प्रधानमन्त्री ओलीलाई कारवाही गर्न प्रचण्डको माग - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

प्रधानमन्त्री ओलीलाई कारवाही गर्न प्रचण्डको माग



काठमाडौं- निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग गरेका छन्।

दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधबार विज्ञप्ति जारी गर्दै ओलीद्वारा एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

बिहीबार हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनमा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै दाहालले कारवाही गर्न माग गरेका हुन्। जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयम् निर्वाचन आयोगले सचेत गराइसकेको छ।

‘केपी शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो’ विज्ञप्तिमा भनिएको छ, ‘यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ।’

प्रचण्डको सचिवालयले भनेको छ, ‘यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उल्लंघन भएको छ। यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु।’