लुम्बिनी प्रदेश: विशेष अधिवेशन बोलाउन यादवले गरे अस्वीकार
बुटवल-लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले विपक्षी चार दलको माग अनुसारको प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्।
मुख्यमन्त्री शंकर पाखेरेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विपक्षी चार दलले विशेष अधिवेशन माग गर्दै पत्र दिएका थीए तर, प्रदेश प्रमुखले भने विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्।
प्रदेश प्रमुख यादवले मंगलबार सभामुखलाई पत्र पठाउँदै अविश्वासको प्रस्तावमाथि छलफल गर्न संविधानले पनि नमिल्ने भएकाले हाल अधिवेशन बोलाउने अवस्था नरहेको जानकारी गराएका हुन्।
पत्रमा लेखिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेश सभाका माननीय सदस्यहरुले लिखित अनुरोध गर्नु भएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांस बामोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु।’
संविधानको धारा १८८ को ४ मा प्रतिबन्धात्मक वाक्यांशमा मुख्यमन्त्रीविरुद्ध पहिलो २ वर्ष र एक पटक अविश्वासको प्रस्ताव राखेर असफल भएको खण्डमा त्यसको एक वर्षभित्र अविश्वास प्रस्ताव पेश गर्न नमिल्ने व्यवस्था छ।
वैशाख २६ गते नेपाली काँग्रेस, मओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पोखरेलविरुद्ध दोश्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। पहिलो पटक दर्ता गराएको अविश्वासको प्रस्ताव उपर छलफल नै नगराइ विशेष अधिवेशन अन्त्य गरिएको भन्दै चार दलले पुनः विशेष अधिवेशन माग गरेका थिए।
चार दलले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशन माग गरेका थिए।