ओलीले पत्र पठाएपछि बादललाई समर्थन गर्ने राप्रपाको औपचारिक निर्णय
काठमाडौं- जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले गृहमन्त्री समेत रहेका एमाले नेता रामबहादुर थापा बादललाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ ।
बागमती प्रदेशको उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री बादल उम्मेदवार रहेका छन् । आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि प्रधानमन्त्री केपी ओलीले पत्र पठाएपछि राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय गरेको हो ।
राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिइसकेको छ ।
राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मत भार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् ।
उनीहरुको मत भार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मत भार १३२ छ । यसअघि एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गर्दै बादलको पक्षमा मत मागेका थिए ।