देशैभर निजी र सरकारी अस्पतालले 'मृत्युको मञ्जुरीनामा' कागज गराउन थाले - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

देशैभर निजी र सरकारी अस्पतालले ‘मृत्युको मञ्जुरीनामा’ कागज गराउन थाले



३५ वर्षका बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । तर, अक्सिजन नभएर अस्पतालको अवस्था झन् गम्भीर भयो । बुधबार बिहान ११ः१५ बजे बिरामीको दाजुलाई बोलाएर अस्पतालले यस्तो कागज गरायो– ‘कोभिड संक्रमित बिरामीका लागि अत्यधिक अक्सिजन आवश्यकता परेको, तर यस विषम परिस्थितिमा राज्यले प्रशस्त अक्सिजनको व्यवस्था मिलाउन नसकी अक्सिजनको चरम अभाव भएको हुँदा अस्पतालले पनि अक्सिजनको पर्याप्त मात्रामा व्यवस्थापन गर्न नसकेको, वार्ड तथा इमर्जेन्सीमा भएको बिरामीहरूलाई चाहिने मात्रामा अक्सिजन दिन नसकिरहेको अवस्थामा बिरामीहरूको ज्यान तल–माथि भएमा अस्पताल तथा कुनै पनि कर्मचारीहरू जवाफदेही हुनेछैन । जे–जस्तो छ, त्यसैमा उपचार गर्न तयार छु भनी सहीछाप गर्न मञ्जुर छु ।’

भक्तपुर मात्र होइन, देशैभरका सरकारी अस्पतालले बिरामीका आफन्तलाई यस्तै कागज गराउन थालेका छन् । ‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’ भन्ने कागजमा औँठाछापसमेत लगाउन बिरामीका आफन्त बाध्य भएका छन् । यहीबीच अक्सिजन रोकिएर बुधबार मात्रै रुपन्देहीमा नौजना र नेपालगन्जमा ६ जना बिरामीको मृत्यु भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हस्तक्षेपले अस्पतालमा अक्सिजन आपूर्ति झन् जटिल बनाएको छ । सिसिएमसीको हस्तक्षेपले अक्सिजनको आपूर्ति बढाएको छैन, उल्टै अस्पतालमा आपूर्ति भइरहेको अक्सिजनसमेत घटाएर संक्रमितको जीवनमाथि झन् ठूलो खेलबाड गरिरहेको छ ।

महामारी सुरु भएको एक वर्षसम्म अक्सिजन आपूर्ति बढाउन कुनै पहल नगरेको सिसिएमसी अहिले अक्सिजन व्यवस्थापनमा उत्रिएको छ । तर, वीर, पाटन, पोखरा र धरानजस्ता देशका प्रमुख अस्पतालमा एक वर्षअघि नै बिग्रिएका अक्सिजन प्लान्ट मर्मत गर्नसमेत सिसिएमसीले कुनै पहल गरेको थिएन । नयाँ प्लान्ट बनाउन र अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउन पनि सार्थक तयारी भएन । अहिले हाहाकार भएपछि हस्तक्षेपमा उत्रिएर समस्या झन् बढाएको छ ।

अर्कोतिर उपत्यकाका कोभिड अस्पतालहरूले अक्सिजनको अभावका कारण देखाएर थप बिरामी भर्ना गर्न नसकिने भन्दै विज्ञप्ति निकाल्न थालेका छन् । प्लान्ट उपलब्ध केही सरकारी अस्पतालले अक्सिजनको माग थामिरहे पनि निजी अस्पतालले अक्सिजन नै उपलब्ध नभएकाले बिरामीको उपचार गर्न नसकिने बताएका छन् । बिरामीको माग थेग्नै नसक्ने गरी बढेपछि अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ ।

अस्पताल प्रशासनका अनुसार आइसियू र भेन्टिलेटरमा राखिएका बिरामीबाहेक अन्य संक्रमितलाई डिस्चार्ज गरिएको थियो । यस्तै, मेडिसिटी, ह्याम्स र स्टार अस्पतालमा पनि अक्सिजनको अभावका कारण परिपूर्ति गर्न नसकिएको बताइएको छ । अक्सिजनको माग दिनानुदिन बढिरहे पनि सिसिएमसीले पाइरहेको अक्सिजन पनि कटौती गर्दा अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ ।

अस्पतालको मागभन्दा आधा सिलिन्डर पठाउँदै सरकार

वीर अस्पताल- बिरामी संख्या : १६० जना, आवश्यक अक्सिजन : ३०० सिलिन्डर, सिसिएमसीको कोटा : ३०० सिलिन्डर, अक्सिजन प्लान्ट : दैनिक १५० सिलिन्डर, आपूर्ति : ३० सिलिन्डर

त्रि.वि शिक्षण अस्पताल- बिरामी संख्या : ३४५ जना, आवश्यक अक्सिजन : ३०० सिलिन्डर, सिसिएमसीको कोटा : १५० सिलिन्डर, आपूर्ति : १०० सिलिन्डर

सिभिल अस्पताल- बिरामी संख्या : ८४ जना, आवश्यक अक्सिजन : १०० भन्दा बढी, सिसिएमसीको कोटा : ६० सिलिन्डर, आपूर्ति : ३० सिलिन्डर

नेपाल प्रहरी अस्पताल- बिरामी संख्या : २६३ जना, आवश्यक अक्सिजन : २५० सिलिन्डर, सिसिएमसीको कोटा : १०० सिलिन्डर, अक्सिजन प्लान्टबाट उपलब्ध : ८०–१४ सिलिन्डर, आपूर्ति : ७० सिलिन्डर

भक्तपुर अस्पताल- बिरामी संख्या : ७४ जना, आवश्यक अक्सिजन : २०० सिलिन्डर, सिसिएमसीको कोटा : ५० सिलिन्डर, आपूर्ति : ०

राष्ट्रिय आयुर्वेद अस्पताल- बिरामी संख्या : १४३ जना, आवश्यक सिलिन्डर : १०० भन्दा बढी, सिसिएमसीको कोटा : २५ सिलिन्डर, आपूर्ति : २०–२५ सिलिन्डर

त्रिवि शिक्षण अस्पताल

शिक्षण अस्पतालमा हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै भएकाले अक्सिजन परिपूर्ति गर्न मुस्किल भइरहेको छ । अस्पतालमा रहेका बिरामीको संख्याका आधारमा हाल प्रत्येक दिन करिब तीन सय सिलिन्डर अक्सिजन थप आवश्यक हुन्छ । तर, सिसिएमसीले हाल जम्मा एक सय ५० मात्रै सिलिन्डर उपलब्ध गराइरहेको छ ।

शिक्षण अस्पतालले काभ्रेको नवज्योति अक्सिजन कम्पनीसँग सम्झौता गरेर दैनिक तीन सय सिलिन्डर ल्याइरहेको थियो । अक्सिजन अभाव हुन थालेपछि सिसिएमसीले दैनिक एक सय ५० सिलिन्डर मात्रै दिने सम्झौता गरेको छ ।

शिक्षणको कोभिड युनिटका प्रमुख डा. सन्तकुमार दास भन्छन्, ‘मंगलबार अक्सिजन नै नआएकाले व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको थियो । बेलुका मात्र अक्सिजन आएर अलि सहज भएको छ । तर, अस्पतालमा रहेका ५० प्रतिशतभन्दा बढी बिरामीलाई हाइफ्लो अक्सिजन चाहिन्छ । वार्डमा मात्रै २२ जना बिरामी आइसियू राख्नुपर्ने अवस्थामा छन् । तर, आइसियू खाली छैन । इमर्जेन्सीमा बिरामीको मृत्यु भइरहेको छ ।’

सिभिल अस्पताल

सिभिल अस्पतालमा कोभिडका ८४ जना संक्रमित छन् । वार्डमा ठाउँ नभएर इमर्जेन्सीमा राखिएका बिरामीको लेखाजोखा छैन । अस्पतालमा दैनिक सयभन्दा बढी अक्सिजन सिलिन्डर आवश्यक छ, तर अक्सिजन आपूर्ति नहुँदा वार्डमै बिरामीको मृत्यु भइरहेको छ ।

१० घन्टा अक्सिजन चाहिने बिरामीलाई दुईदेखि तीन घन्टा मात्रै अक्सिजन दिएर जसोतसो प्राण मात्रै धानिदिने व्यवस्था गरिएको अस्पतालका कोभिड संयोजक डा. दिनेशकुमार लम्साल बताउँछन् । ‘अक्सिजनको आपूर्ति एकदमै कम छ । एक साताअघि हामीले बजारबाट २६ सिलिन्डर खोजेर ल्याएका थियौँ, अहिले बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । तर, अक्सिजन नभएरै वार्डमा संक्रमितको मृत्यु भइरहेको छ । अस्पतालको आइसियूमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुनु निकै दुःखदायी अवस्था बनेको छ,’ उनी भन्छन् ।

वीर अस्पताल

बिरामीको चाप बढ्दै गएपछि वीर अस्पतालमा सय बेड मंगलबारदेखि सञ्चालनमा ल्याउने तयारी थियो । तर, अक्सिजन अभाव भएकाले बेड सञ्चालनमा आएनन् । कोभिडका लागि नयाँ भवनमा तयार गरिएको वार्डमा मात्रै दैनिक कम्तीमा सय सिलिन्डर अक्सिजन आवश्यक हुन्छ, तर सिसिएमसीले जम्मा ३० सिलिन्डर मात्र उपलब्ध गराएको अस्पतालका कोभिड संयोजक डा. अच्युत कार्की बताउँछन् ।

‘बिहानैदेखि स्वास्थ्य मन्त्रालय र सिसिएमसीलाई आग्रह गरिरहेका थियौँ, कम्तीमा सय सिलिन्डर पठाइदिन्छौँ भने पनि जम्मा ३० मात्र आएको छ । यो अक्सिजनले इमर्जेन्सी वार्डलाई पनि पुग्दैन,’ उनले भने ।

नेपाल प्रहरी अस्पताल

नेपाल प्रहरी अस्पतालमा दैनिक दुई सय ५० सिलिन्डरभन्दा बढी अक्सिजन आवश्यक हुन्छ । अस्पतालका कोभिड संयोजक डा. दामोदर पौडेल भन्छन्, ‘अस्पतालमा भर्ना भएका लगभग ९५ प्रतिशत बिरामीलाई अक्सिजन चाहिन्छ । अस्पतालमा अक्सिजन प्लान्ट भए पनि हाइफ्लो अक्सिजन आवश्यक पर्ने संक्रमित बढी भएकाले माग पु-याउन हम्मेहम्मे छ ।’

कतिपय बिरामीलाई एक घन्टामा एउटा अक्सिजन सिलिन्डर आवश्यक पर्ने अवस्था भएको उनी बताउँछन् । ‘यस्ता बिरामीलाई प्रतिमिनेट ८० लिटर अक्सिजन आवश्यक हुन्छ । यही वेला सिसिएमसीले सिलिन्डरमा कटौती गरिदिएको छ । हामीसँग बेड भएर पनि बिरामी भर्ना गर्न सकेका छैनौँ,’ उनले भने ।

भक्तपुर अस्पताल

भक्तपुर अस्पतालमा अक्सिजन सकिएपछि अस्पतालमा भर्ना भएका बिरामीको जीवन जोखिममा छ । अस्पतालकी मेसु डा. सुमित्रा गौतमका अनुसार अस्पतालले यसअघि सम्झौता गरेका उद्योगबाट अक्सिजन ल्याउन पाएको छैन, किनकि सिसिएमसीले कोटा तोकेको छ । तर, सिसिएमसीले तोकेको कोटाले नपुगेपछि जनकपुरबाट मगाइएको छ ।

‘सिसिएमसीको निर्देशनविना उद्योगले अक्सिजन दिन मानिरहेका छैनन्, अस्पतालमा अक्सिजन छैन । आइसियूमा रहेका बिरामीलाई बचाउनै मुस्किल छ । अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयदेखि सिसिएमसी र सबै उत्पादन कम्पनीसँग आग्रह गरिसक्यौँ, कहीँबाट उपलब्ध हुन सकेको छैन,’ उनले भनिन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

राष्ट्रिय आयुर्वेद अनुसन्धान अस्पतालमा एक सय ३२ जना बिरामी छन् । उनीहरूका लागि दैनिक सयभन्दा बढी सिलिन्डर अक्सिजन आवश्यक हुन्छ । ‘सिसिएमसीले हिमाल ग्यासबाट अक्सिजन लिएर आउनू भनेको रहेछ, आज बल्ल १६ वटा सिलिन्डर ल्याइएको छ । यसले अस्पतालमा रहेका पाँच प्रतिशतलाई पनि पुग्दैन । त्यही पनि दैनिक उपलब्ध हुँदैन । अब कसरी बिरामी बचाउने भन्ने समस्या भएको छ,’ अस्पतालका कोभिड संयोजक डा. जितेन्द्र श्रेष्ठ भन्छन् ।

कुमा अक्सिजन आपूर्ति छ, तर बेड छैन

कोभिड संक्रमणको उपचार भइरहेको टेकु अस्पतालमा भने अक्सिजन प्लान्ट सञ्चालनमा रहेकाले अक्सिजन आपूर्ति अहिलेसम्म सहज नै छ । तर, बेड नभएकाले बिरामी बाहिरै राखिएको छ । उनीहरूका लागि सिलिन्डरबाट अक्सिजन दिनुपर्छ, तर आपूर्ति सहज छैन । ‘पाँच मात्रै बेड भएको इमर्जेन्सी वार्डमा अहिले दैनिक कम्तीमा ४० बिरामीको उपचार भइरहेको छ । बिरामीलाई कुर्सीमा राखेर बाहिरै अक्सिजन दिनुपरेको छ,’ प्रवक्ता नवराज गौतम भन्छन् ।

इमर्जेन्सी वार्ड प्रमुख लीलानाथ भण्डारीका अनुसार अहिले आँगनमै राखिएका सबैजसो बिरामी आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका छन् । तर, भित्र ठाउँ नै नभएकाले अस्पताल विवश छ । अर्जुन अधिकारी, यम बम र मञ्जु टेलरले नयाँ पत्रिकामा लेखेका छन्