माधव नेपाल समूहलाई कारबाही गर्ने ओली पक्षको तयारी
काठमाडौँ- नेकपा एमालेमा देखिएको विवादले अर्कै मोड लिने भएको छ । झलनाथ खनाल-माधवकुमार नेपाल समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि प्रधानमन्त्री ओली समुहले कारबाही गर्ने तयारी गरेको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा ह्वीप उल्लङ्घन गर्ने जो सुकैलाई पनि कारबाही गरिने बताएका छन् । ह्वीप उल्लङ्घन गर्नेलाई पार्टी केन्द्रीय कमिटीले कारबाही गर्ने उनले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले अनुपस्थित हुने निर्णय गरेपछि प्रमुख सचेतक भट्टराईको उक्त प्रतिक्रिया आएको हो ।
संसदीय व्यवस्थामा ह्वीप उल्लङ्घन गम्भीर अपराध हो । ह्वीप जहाँ पायो त्यहाँ, जे पायो त्यहीँ विषयमा जारी हुन्न, खास-खास विषयमा गम्भीर रूपमा जारी हुने उनको भनाइ छ ।
त्यो पालना पार्टीका सदस्यले पालना गर्नेइपर्ने उनले बताएका छन्। पार्टीले जारी गरेको ह्वीप उल्लङ्घन क्षम्य नहुने उनी बताउँछन । त्यसमा कुन प्रकृतिको कारबाही भन्ने त पार्टीले निर्णय गर्ने बताइएको छ ।
भट्टराईले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूका लागि ह्वीप जारी गरेका थिए । भट्टराईले अझै पनि आफूहरूलाई खनाल-नेपाल पक्षका सांसद प्रतिनिधिसभामा उपस्थित हुने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विश्वास रहेको बताए ।