शेरबहादुर देउवा एकाएक सक्रिय
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक सक्रिय बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संविधान र अहिलेको परिवर्तन सिध्याउन अग्रसर भएको निष्कर्ष निकाल्दै अविलम्ब सबै पक्षसँग परामर्श गरेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको बैठकले ओली नेतृत्वको सरकार मुलुकका लागि घातक भएको भन्दै सरकारलाई जसरी पनि विस्थापित गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सांसद राजन केसीले ओली नेतृत्वको सरकारले सरकार सञ्चालन गर्ने नैतिकता गुमाइसकेको दाबी गर्दै भने– ‘कांग्रेसले नयाँ सरकार गठनको लागि सबै राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ, अब प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि सत्तामा बस्न दिनुहुँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको दलको बैठकमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सकारात्मक वातावरण निर्माण भइरहेको जानकारी गराएका थिए । देउवाको भनाइ उद्धृत गर्दै सांसद केसीले भने– ‘विधानलाई कुल्चिने र संविधानको मूल मर्ममाथि नै प्रहार गर्ने प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा विस्थापित गर्नुको विकल्प छैन ।
संविधानको रक्षा गर्न र लोकतन्त्र बचाउन कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्छ ।’बैठकमा सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग भएको कुराकानीको बिफ्रिङ गरेका थिए ।कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सहमति भइसकेको भए पनि त्यसअघि माधव पक्षका सांसदहरूको राजीनामा आउनुपर्ने देउवाको भनाइ छ ।
सत्तारूढ एमालेभित्र पार्टी एकताको अन्तिम प्रयास भइरहेका बेला विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने माधव नेपाल पक्षका सांसदहरूको राजीनामाको प्रतीक्षामा छन् । शुक्रबार बेलुका कांग्रेस सभापति देउवालाई उनकै निवासमा पुगेर भेटेर निस्किएलगत्तै नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो । एमाले ओली समूहले नेपाल समूहसँगको वार्ता सकारात्मक भइरहेको बताए पनि नेता नेपालले भने अहिलेसम्म कुनै पनि सहमति नभएको बताएका छन् ।