नेपाल समुहका २२ सांसदले गरे राजिनामा पत्रमा हस्ताक्षर
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लगातारको वार्ता र छलफल सकारात्मक दिशामा जान नसकेको र ओलीले नै पार्टी एकता गर्न नचाहेको निस्कर्ष निकाल्दै वरिष्ठ नेता माधव नेपाल समुहका प्रत्यक्ष निर्वाचित सबै सांसदहरूले राजिनामा दिने भेकका छन् ।
एमालेको विभाजन रोक्न शिर्षदेखि तेस्रो तहसम्मका नेताहरूले लगातार पहल गर्दापनि ओले समुहले तत्परता नदेखाएको भन्दै सामुहिक राजिनामाका पत्रमा हस्ताक्षर गरेको नेता नेपाल निकट स्रोतले बताएको छ । पछिल्लो साता लगातार नेपाल समुहाका शिर्षदेखि तेस्रो तहसम्मका नेताहरू विभाजन रोक्न लगातार संवादमा थिए ।
लगातार पहल गर्दापनि सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिनेगरी हस्ताक्षर गरिसकेका छन् । केपी ओलीले वार्ता र संवाद गरेजस्तो गरेर आफूहरूलाई अल्झाउन खोजेको ओली आफ्नो अडानबाट टसमस नभएको भन्दै तत्काल पार्टी एकताको सम्भावना टरेको नेपाल सहुहले निष्कर्ष निकालेको छ ।
अध्यक्ष ओलीले लगातार संवादमा बोलाएर लामो कथा सुनाएको र आफ्नो अडान नछाडेको एक नेताले गुनासो गर्दै बताएका छन् । ओलीको पुरानै शैली परिवर्तन नभएको कारण उनलाई हतौनुको विकल्प नभएको ति नेताको बुझाई छ । लगातारका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले पनि अब सोच्ने ठाउँ नभएको उनले बताए ।
नेपाल समुहका एक नेताका अनुसार प्रत्यक्ष निर्वाचित सांसदहरूले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । ती नेताका अनुसार २२ जना सांसदले पत्र बुझाएका छन् ।
माधव नेपालसहित भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीको अहंकार समाप्त पर्न जे पनि गर्नुपर्ने लाइनमा उभिएका छन् । केपी ओलीलाई सत्ताच्यूत गरेपछिमात्र नयाँ आधारमा एमालेको एकता हुने उनीहरूको बुझाइ छ ।
माधव समुहका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित पत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गगरेको बताइएको छ ।
शनिवार ओली इतर समूहका प्रतिनिधि सभा सदस्यहरूको बैठक बसेको थियो । बैठकमा माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालसहित प्रतिनिधि सभाका सदस्यहरू उपस्थित भएको बताइएको छ ।