देउवापछि प्रचण्डले पनि निकाले विज्ञप्ति - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देउवापछि प्रचण्डले पनि निकाले विज्ञप्ति



काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेलगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विज्ञप्ति निकालेर संवैधानिक परिषद्को बैठकमा नजान आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नजान प्रचण्डले परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् । परिषद्को आइतबारको बैठक स्थगित गर्न पनि प्रचण्डले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले आइतबार बिहान ९ बजेका लागि बैठक बोलाएका छन् । दाहालले शनिबार विज्ञप्ति जारी गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बैठक बोलाएको भन्दै बैठकमा सहभागी नहुन सदस्यहरूलाई अनुरोध गरेका हुन् ।

‘प्रमुख प्रतिपक्षका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,’ दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीले बारम्बार अध्यादेशको दुरुपयोग गरेको पनि दाहालको भनाइ छ । ‘संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।’

संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले नजाने बताइसकेका छन् । देउवाले विज्ञप्ति जारी गर्दै अरु सदस्यहरूलाई पनि आइतबारको बैठकमा नजान आग्रह गरेका छन् ।