दोलखा भीमेश्वरको शिलामा फेरि आयाे पसिना: के हुन लागेको हो ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

दोलखा भीमेश्वरको शिलामा फेरि आयाे पसिना: के हुन लागेको हो ?



काठमाडौं- दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो शिलामा ‘पसिना’आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए ।

शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए। दोलखा भीमेश्वरलाई पसिना आएपछि देशमा संकट आउने वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यसअघि पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको थियो । त्यसअघि २०७६ फागुन ८ गते पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी सुरु भएको विश्वास गरिन्छ।

अहिले शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको श्रेष्ठले बताए। दायाँ पट्टीबाट पसिना आउँदा राजकाजमा बसेका र बायाँ पट्टीबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ।

उपाध्यक्ष श्रेष्ठले आइतबार राष्ट्रपति कार्यालयमा महाप्रसाद पठाइने बताए। त्यसपछि मन्दिरमा क्षमा पूजा गरिने उनले बताए। राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमा पूजाका लागि पञ्चबली पठाउने चलन रहेको थियो।