मन्त्रिपरिषद्को आकस्मिक बैठक: स्वास्थ्य संकटकाल र जसपबारे निर्णय हुनसक्ने
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
आजको आकस्मिक बैठकमा के बिषयमा छलफल हुने भन्ने जानकारी नदिएपनि कोरोना महामारी र स्वास्थ्य क्षेत्रबारे केहि घोषणा हुनसक्ने आंकलन गरिएको छ । एक मन्त्रीका अनुसार बैठकका एजेण्डाबारे केहि खुलाइएको छैन । बालुवाटार स्रोतले भने स्वास्थ्य संकटकाल बारे छलफल हुनसक्ने बताएको छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरिरहेको र जसपमा विवाद भैरहेकाले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनेबारे छलफल हुनसक्ने कहिले आंकलन समेत गरेका छन् । त्यसबाहेक जसपाले उठाएका मुद्दा मन्त्रिपरिषद्बाट सम्बोधन गर्न र उसलाई आफ्नो पक्षमा पार्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हुनसक्ने अनुमान पनि गरिएको छ ।
बैठकको समय र स्थानबारे मात्रै आफूलाई सूचना आएको, आकस्मिक रुपमा बैठक बस्न लागेको र एजेन्डाबारे कुनै जानकारी नदिइएको एक मन्त्रीले बताए ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । दुई दिनअघि मात्रै पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकमा मन्त्रालयका नियमित एजेन्डा र कोरोना संक्रमण रोकथाम र नियन्त्रणसम्बन्धी केही निर्णय लिइएका थिए ।
सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् । त्यसका लागि उनले राजनीतिक दलहरूसँग छलफल गरिरहेका छन् । विश्वासको मत लिनुपहिले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।