जहाज डुबाएपछि भोटको चिन्तामा इश्वर पोखरेल
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमाले अहिले अत्यन्त जटिल मोडमा पुगेको छ । विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने विश्वासको मत लिन संसद बैठक बोलाएका छन्।
विश्वासको मतका लागि बैठक बोलाएसँगै राजनीतिमा अनेकौँ घटनाक्रम देखिएका छन् । आफ्नै पार्टीका इतर समुहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने सम्भावना बढिरहेका बेला ओली समूह भने विभिन्न समूह फकाउने अभियानमा लागेको छ ।
बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमै पुगेर प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न र सरकारमा सहभागी हुनका लागि प्रस्ताव समेत गरे ।
यस्तै बुधबार दिउसो नै पार्टी महासचिव इश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवा नेताहरूलाई भेटेर पार्टीको एकताको लागि लग्न आह्वान गरेका छन् । दुवै पक्षले एक अर्कालाई सिध्याउन कम्मर कसेर लागिरहेका बेला पोखरेलले भोटको राजनीति गर्न लागेका छन् । नेताहरूलाई कारबाही गर्ने अभियान नै चलाएका पोखरेललाई अहिले भने पार्टी एकता बचाउने चटारो परेको छ । पार्टीको जहाज डुबेपछि उनलाई भोटको चिन्ता भएको छ।
प्रधानमन्त्री ओलीलाई नेपाल समुहले विश्वासको मत नदिने अवस्था देखिएपछि पोखरेलले पार्टी एकहको बहानामा नेताहरूलाई मत दिन आग्रह गरेका छन् । उनले बुधबार दिउसो सिंहदरबारमा माधव नेपाल समुहका नेता योगेश भट्टराईसँग छलफल गरेका छन् ।
उक्त छलफलमा पोखरेलले ओलीलाई सहयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा नेता भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लचक भएर प्रस्तुत हुने सन्देश पु-याइदिन आग्रह गरेका थिए ।