एकै परिवारका आठ जना संक्रमित: आमापछि छोराको ज्यान गयो - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

एकै परिवारका आठ जना संक्रमित: आमापछि छोराको ज्यान गयो



काठमाडौं- इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो।

शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौं जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जनाए। इनरुवासँगै इटहरी र धरानका कोरोना संक्रमितको मृत्यु भएको हो। सुनसरीमा अहिले ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्।

भारतमा संक्रमितको संख्या बढ्दै गएको र खुला नाकाका कारण नेपालमा पनि उत्तिकै मात्रामा संक्रमित बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्। खुला सिमानाका कारण सुनसरीका विभिन्न नाका भएर दुवै देशबीच आउजाउ अहिले पनि रोकिएको छैन। जिल्ला प्रशासन कार्यालयले सीमा नाकामा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरी आउजाउ नियन्त्रणका लागि खटाए पनि खुला सिमानाकाका कारण पूर्ण रूपमा सम्भव नभएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।

उनका अनुसार भारतबाट नेपाल आउनेलाई कोसीको भन्टाबारीबाट मात्र खुला गरिएको छ। केही दिनभित्र त्यहाँबाट पनि नेपाल आउनेलाई रोक लगाउने तयारी भएको छ। प्रशासनले रोक लगाएर प्रहरी परिचालन गरे पनि खुला सीमाकै कारण दसगजा क्षेत्रमा आइपुगेपछि उनीहरू सहजै नेपाल प्रवेश गर्ने गरेका छन्। नेपाल प्रवेश गर्नेको रेकर्ड स्थानीय तहसँग छैन। सुनसरीमा भारतसँग ६५ किलोमिटर खुला सीमा पर्छ।

सुनसरी कोरोनामा संवेदनशील जिल्ला मानिन्छ। कोरोनाका लागि उच्च जोखिम क्षेत्र भएकाले गर्दा सुनसरीभर शुक्रबार राति १२ बजेदेखि वैशाख २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। तर प्रशासन कार्यालयको अब केही दिनभित्रै पूर्ण रूपमा लकडाउन गर्ने योजना रहेको प्रजिअ ढकालले बताए। उनका अनुसार अहिलेको गतिमा कोरोना भाइरस संक्रमित र मृत्युको संख्या बढे स्थिति नियन्त्रणबाहिर जाने भएकाले पूर्ण रूपमा लकडाउन गर्ने योजना रहेको नागरिकमा समाचार छ ।