चिनियाँ राष्ट्रपति सी ले पठाए मोदीलाई सन्देश: सहयोग गर्न हामी तयार छौँ - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

चिनियाँ राष्ट्रपति सी ले पठाए मोदीलाई सन्देश: सहयोग गर्न हामी तयार छौँ



एजेन्सी- भारतमा महामारीका कारण उत्पन्न गम्भीर अवस्थासँग जुध्नका चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संदेश पठाएको छ । विकराल अवस्था सृजना भएको भारतलाई सहयोगको प्रस्ताव गर्दै चीनले संदेश पठाएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीको वर्तमान अवस्थाप्रति सहानुभूतिसँगै सहयोगका लागि प्रस्ताव गरेको भारतका लागि चिनियाँ राजदूतले जानकारी दिएका छन्।

भारतका लागि चिनियाँ राजदूत सुन वेइडान्गले ट्वीट गरेर राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री मोदीलाई सहानुभूति सन्देश पठाएको जानकारी गराएका हुन्।

उनले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति सी ले भन्नुभएको छ– म भारतमा कोभिड–१९ महामारीको हालको अवस्थालाई लिएर चिन्तित छु । चिनियाँ नागरिक तथा सरकार एवम् मेरो तर्फबाट भारत सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

राष्ट्रपतिले सन्देशमा भनेका छन्, ‘साझा भविष्यका लागि मानवता एक समुदाय हो । एकता र सहयोगबाट नै विश्वका देशहरु यो महामारीलाई पराजित गर्न सक्ने छन्।’

‘चीन महामारीसँग लड्नका लागि भारतलाई थप सहयोग गर्न तयार र तत्पर छ । मलाई विश्वास छ कि भारत सरकारको नेतृत्वमा भारतीय जनताले पक्कै पनि महामारीमाथि विजय प्राप्त गर्ने छन्’, सन्देशमा भनिएको छ।

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण भारत अत्याधिक प्रभावित भएको छ र त्यहाँको अवस्था भयावह बनेको छ । दैनिक चार लाख हाराहारीमा संक्रमित थपिन थालेका छन् भने साढे तीन हजारको हाराहारीमा मृत्यु भइरहेको छ ।