शंकर पोखरेलको भाग्य चम्कियो
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना ४ सांसदलाई पदमुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भाग्य चम्किएको छ । जसपाले आफ्ना सांसदलाई कारबाही गर्दा पोखरेललाई भने हाइसन्चो बनेको छ ।
कूल ८७ सदस्यीय प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद छन् र जसपाले आफ्ना सांसदलाई कारबाही गर्दा एमालेको एकल बहुमत पुग्ने हुनाले आफैले मन्त्री बनाएका सांसदहरूको पद जाँदा पनि पोखरेल भाग्यमानी देखिएका हुन् ।
माओवादीका २ सांसद यसअघि नै पदमुक्त भएका छन्, बिहीवार जसपाका ४ सांसद पदमुक्त भएका छन् । यससँगै ८७ सदस्यीय प्रदेश सभा प्रदेशसभामा सभामुखसहित ८१ सदस्य रहन्छन् ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि जसपाका ४ सांसदलाई पार्टीले कारवाही गरेको भन्दै प्रदेशसभा सचिवालयले बिहीवार सूचना टाँस गरेको छ । सूचना टाँस गरेपछि जसपा अध्यक्ष महन्थ ठाकुरले भने कारवाहीबारे कुनै निर्णय नभएको भनेर लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीलाई पत्र पठाएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश सभामा बहुमतका लागि ४१ मत चाहिन्छ । अब त्यो संख्या एमाले एक्लैसँग पुग्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको पद जोगिने भएको छ ।
प्रदेश सभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका ६ (कारवाही गरिएका सांसदसहित) र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । कारवाहीले मान्यता पाए जसपाका २ सांसद बाँकी रहन्छन् ।
प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि वैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान गरिएको छ ।