काठमाडौंमा चाप बढेपछि हेलिकप्टरबाट झापा पठाइयो कोरोना संक्रमित बिरामी - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

काठमाडौंमा चाप बढेपछि हेलिकप्टरबाट झापा पठाइयो कोरोना संक्रमित बिरामी



काठमाडौं- कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल लैजान थालिएको छ।

काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा लगिएको हो। काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपरान्ह ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा लगिएको हो।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौंमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उदृत गर्दै बताए। झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भएपनि उप्रेती काठमाडौंमा बस्दै आएका थिए। उनलाई आइसियुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए।

बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शैय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ। अहिले कोभिड–१९ का पाँच सङ्क्रमितको उपचार भइरहेको छ। बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए।

‘राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शैय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ,’ गिरीले भने, ‘बीएन्डसीमा कोरोना सङ्क्रमित र अरू बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौं। काठमाडौंबाट अरू सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ।’ (रासस)