गुरुङविरुद्ध अविश्वास प्रस्ताव फेल हुने सम्भावना
पोखरा- गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुने देखिएको छ । प्रदेशसभामा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् ।
गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् । दुवै जनाले फोन अफ गरेर बसेका छन् । गण्डकीमा जनमोर्चा दुवै पक्षको लागी निर्णायक छ ।
जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रदेश सभाको बैठकमा जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने उपस्थित छन् ।
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन ३१ जना सांसदको संख्या आवश्यक पर्ने हुन्छ । दुवै जना सांसद उपस्थित नभएको खण्डमा र आजै मतदान भए अविश्वासको प्रस्ताव फेल हुने सम्भावना छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । १३ गते विपक्षी दलका तर्फबाट मुख्यमन्त्रीका प्रस्तावक कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव पेश गरेपछि बुधबार दिउंसो प्रदेशसभामा सो विषयमा छलफल चलिरहेको छ ।
एमालेसंग प्रदेशसभामा २७ सांसद छन् । प्रदेशसभामा कांग्रेसका १५,माओवादी केन्द्रका १२, जसपाका २ र जनमोर्चाका ३ जना सांसद छन् । मनाङबाट निर्वाचित दीपक मनाङ्गे स्वतन्त्र सांसद छन् ।