बालुवाटार धाइरहने नेताहरू संक्रमित: प्रधानमन्त्री पनि ट्रेसिङमा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

बालुवाटार धाइरहने नेताहरू संक्रमित: प्रधानमन्त्री पनि ट्रेसिङमा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आउजाउ गरिरहने र विभिन्न बैठकमा सहभागी भैरहेका नेताहरूमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छाएको छ ।

नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ । उनीहरूलाई संक्रमण देखिएपछि प्रधानमन्त्री ओली समेत कन्ट्याक ट्रेसमा परेका छन् । दुई पटक मृगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली जोखिममा रहेको चिकित्सकहरूले बताउने गरेका छन् ।

रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् । रायमाझी र भट्टराइले सोमबार बिहान कोरोनाको पीसीआर परीक्षण गराएका थिए । उनीहरुको सोही दिन साँझ पोजेटिभ रिपोर्ट आएको थियो ।

रायमाझी वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् भने रिजाल र भट्टराई होम आइसोलेसनमा बसेको उनीहरुले जनाएका छन् ।

रिजाल र भट्टराई गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी थिए ।