अमेरिकामा मास्क लगाउन नपर्ने: यस्तो छ नयाँ स्वास्थ्य मापदण्ड - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अमेरिकामा मास्क लगाउन नपर्ने: यस्तो छ नयाँ स्वास्थ्य मापदण्ड



एजेन्सी- कोरोना भाइरसविरुद्ध खोपको मात्रा पुरा गरेकाहरूले अमेरिकामा अब मास्क लगाउन नपर्ने भएको छ । खोपको मात्रा पूरा गरेका व्यक्तिहरुले अब मास्कबिना नै बाहिर हिँडडुल गर्न पाउने ब्यबस्था अमेरिकामा गरिएको छ । 

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सानो जमघटमा जाँदा, बाइक चलाउँदा र दगुर्दा मास्क लगाउनु नपर्ने जनाइएको छ।  अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताए अनुसार खोप लगाएकाहरुले अपरिचित व्यक्तिहरुको भीडभाडमा भने मास्क नलगाई जान पाइने छैन ।

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले महामारीपछिको सामान्य जीवनमा फर्कने दिशामा महत्त्वपूर्ण कदम उठाउँदै मास्कको प्रयोग सम्बन्धी नियम खुकुलो पार्ने गरी मंगलबार नयाँ निर्देशिका जारी गरेको हो। 

सीडीसीको मापदण्डमा भनिएको छ, “जो अमेरिकीले कोभिड-१९ विरुद्धको खोप पूरा मात्रामा लगाएका छन्, अब उनीहरुले बाहिर हिँड्दा, दौडिँदा, हाइकिङ गर्दा वा बाइक चलाउँदा वा आफ्नो घरपरिवारका सदस्यहरुसहित सानो जमघट वा समारोहमा मास्क लगाउन आवश्यक छैन। खेल रंगशाला, कन्सर्ट जस्ता भीडभाडयुक्त सार्वजनिक ठाउँहरुमा भने सबैले मास्कको प्रयोग गर्न जरुरी छ।”

महामारीबाट सामान्य जीवनमा फर्किने यो कदमलाई अमेरिकी राष्ट्रपति जो बाइडनले महामारीमा ऐतिहासिक क्षणको संज्ञा दिएका छन्। कोभिड-१९ बाट अमेरिकामा हालसम्म ५ लाख ८७ हजार जनाको मृत्यु भइसकेको छ। 

सीडीसीले एक वर्षयता अमेरिकीहरुलाई बाहिर निस्किँदा दोस्रो व्यक्तिसँग ६ फुटको दूरी राख्न र मास्क लगाइराख्न सुझाव दिँदै आएको थियो। पछिल्लो पटक सीडीसीले खुकुलो प्रावधान तब ल्यायो, जब अमेरिकामा आधाभन्दा बढी वयस्क व्यक्तिहरुले कोभिड-१९ विरुद्धको खोप कम्तीमा पहिलो मात्रा लगाएका छन् भने एक तिहाइभन्दा बढी व्यक्तिले पूरा मात्रा लगाइसकेका छन्।

अलबमा राज्यको बर्मिङ्घमस्थित अलबामा विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. माइक सागले मास्क सम्बन्धी खुकुलो प्रावधानको स्वागत गर्दै भने, “यो हाम्रो स्वतन्त्रताको पुनरागमन हो। हामी सामान्य जीवनमा फर्किन लाग्दै छौं।” 

नयाँ दिशानिर्देशले खोप नलगाएका अमेरिकीहरुलाई बाहिरी कार्यक्रममा मास्क लगाउन अझै अनिवार्य नै गरिएको छ।