माधव समुहलाई राजनीतिक रुपमा समाप्त पार्ने प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने नेताहरूको राजनीति सिध्याइदिने बताएका छन् । ओलीले माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै राजनीतिक रुपमा समाप्त पार्ने चेतावनी दिएका छन् ।
आइतबार साँझ इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पार्टीको ह्वीप उल्लंघन गरे राजनीतिक रुपमा समाप्त पार्ने चेतावनी दिएका हुन् । उनले फ्लोर क्रस गरेको खण्डमा समाप्त गरीदिने बताएका छन् । उनले भनेका छन्, ‘ह्वीप उल्लंघन गर्नुहुन्छ भने उहाँहरुको राजनीति रहन्छ भन्ने नसोचे हुन्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल समूहलाई सच्याउने कोशिश गरिरहेको र नसच्चिए कारबाही गर्ने बताएका छन् । उनले भनेका छन्, ‘सकेसम्म साथीहरू सुध्रिउन भन्ने हो, पार्टीको निर्देशन विपरित काम गरे उहाँहरुलाई राजनीतिक हिसाबले समाप्त हुन दिनुपर्छ । ह्वीप उल्लंघन गर्नुहुन्छ भने उहाँहरुको राजनीति रहन्छ भन्ने नसोचे हुन्छ’, उनले भने ।
‘पार्टीहितको पक्षमा नहुने भए कारबाही हुन्छ । (नेपाल समूहले)छुट्टै संगठन बनाएको छ कारबाही हुन्छ । एमाले भनेको जोगी सन्याशी भनेजस्तो होइन नि । सच्याउने कोशिश गर्दैछु नभए कारबाही हुन्छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले माधव नेपालले नयाँ पार्टी खोलिसकेको दाबी गरेका छन् । उनले माधव नेपालले अराजक भएको पार्टीलाई फुटाउन अरुसँग लागेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले माधव नेपाल समूह पार्टीको बैठक नआएकाले स्थायी कमिटी बैठकमा नराखेको बताएका छन् । नेपाल समूहले कर्णालीमा फ्लोर क्रस गरेकाले केन्द्रमा पनि त्यसको असर देखा पर्ने उनले बताएका छन् ।