यी नौ जिल्लामा तत्काल निषेधाज्ञा लगाउने तयारी - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

यी नौ जिल्लामा तत्काल निषेधाज्ञा लगाउने तयारी



काठमाडौँ- आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ । कोभिड १९ को संक्रमण नियन्त्रण बाहिर जानसक्ने आंकलन गर्दै केन्द्रले यस्तो सिफारिस गरेको हो ।

अत्यधिक संक्रमित भेटिएपछि संक्रमण नियन्त्रण बाहिर जाने खतरा बढ्दै गएको केन्द्रको आंकलन छ । सीसीएमसीले पहाडी (गाउँ क्षेत्र) मा दुई सय संक्रमित र सहरी क्षेत्रमा पाँच सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न भनेको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँसहित देशका विभिन्न नौ जिल्लामा (आइतबारसम्म) पाँच सय बढी सक्रिय संक्रमित छन् । यी जिल्लामा छिटै निषेधाज्ञा हुन सक्नेछ ।

पाँच सय भन्दा धेरै कोभिडका सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर भक्तपुर, मोरङ, पर्सा, कास्की, रुपन्देही, बाँके र दाङ छन् । बाँकेमा जिल्ला प्रशासन कार्यालयले भोलि राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भइसकेको छ ।

त्यस्तै कोरोना संक्रमितको संख्या धेरै भएको अर्काे जिल्ला रुपन्देहीमा पनि सोमबारदेखि जोरबिजोर प्रणाली हुँदैछ । सरकारले भिडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।