'नेपालमा दैनिक १५० जना सम्मको मृत्यु हुनसक्छ' - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

‘नेपालमा दैनिक १५० जना सम्मको मृत्यु हुनसक्छ’



काठमाडौँ- स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणको दर विश्वमै उच्च तहमा पुगेको बताउँदै आउँदा दिन झनै कष्टकर रहेको जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले नेपालमा कोभिड संक्रमण चिन्ताजनक अवस्थामा पुगेको बताए। उनले अहिलेकै अवस्थामा मृत्युदर बढ्ने हो भने अबका आउने दिनमा दैनिक रुपमा झण्डै १५० जनाको मृत्यु हुने बताए।

उनका अनुसार नेपालमा दोस्रो लहर सुरु भइसकेको बताउँदै गत हप्ताको तुलनामा नेपालमा यो हप्ता कोभिडको संक्रमण झण्डै २४१ प्रतिशतले बढेको जानकारी दिए।

उनका अनुसार कोभिडको संक्रमण भारतमा ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत तथा मालदिभ्समा ८० प्रतिशतले बढेको छ।

डा. कर्माचार्यका अनुसार गएका केही दिनमा नेपालमा पीसीआर टेस्ट भएका मध्य झण्डै ३० प्रतिशत संख्यामा पीसीआर पोजेटिभ देखिएको छ। उनले अहिलेकै क्रममा यदि यो संख्या बढ्दै जाने हो भने अबको तीन महिना भित्रमा नै झण्डै २ लाखको हाराहारीमा संक्रमण हुने देखिने बताए। उनले थपे, अझ जटिल भएको खण्डमा संक्रमितको संख्या २ लाख भन्दा बढ्ने छ।

अहिले देखिएको अवस्था भयावहका रूपमा नजिक रहेको सङ्केतका रूपमा बुझ्नुपर्ने भन्दै उनले तत्काल सावधानी नअपनाइए अवस्था झन जटिल हुने बताए।