आफ्नै समुहमा पनि ओली अल्पमतमा, ईश्वर पोखरेल बाहेक कसैले दिएनन् साथ
काठमाडौं- आइतबार बिहान बालुवाटारमा बोलाइएको आकस्मिक स्थायी कमिटिको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले सोचेजस्तो भएन । माधव नेपाल समुहका सांसदहरूलाई सोत्तर पार्नेगरी कारबाहीको तयारी गरेका ओलीलाई आफ्नै समुहका स्थायी कमिटिका सदस्यहरूले साथ् नदिएपछि बैठकले थप निर्णय लिन सकेन ।
नेपाल समुहलाई कारबाही गर्नकै लागि पूर्ण तयारीका साथ बोलाइएको आकस्मिक बैठकमा आफ्नै समुहका नेताहरू असन्तुष्ट देखिएपछि ओलीले कोरोनातिर कुरा मोडेका थिए । फ्लोर क्रस गर्ने सुचना आएको भन्दै तत्काल कारबाही गर्नुपर्ने भन्दै ओलीले नै बिषयमा प्रवेश गराएका थिए । तर उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाहेक सबैले उनको प्रस्तावमा विरोध गरेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार, कारबाही गर्ने कदमबाट ओली पछि हट्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको थियो । आकस्मिक रूपमा बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली चरम अल्पमतमा परेका थिए । बैठकमा ओलीलाई उपप्रधानमन्त्री पोखरेलबाहेक कसैले पनि साथ दिएनन् ।
पार्टीको विवाद समाधान गर्नुपर्ने बेलामा एकाएक कारबाहीमा जान नहुने नेताहरूले बताएका थिए । तत्काल कारबाहीको निर्णय गर्नु हतारो हुने र विपक्षीहरूलाई झनै बोल्ने ठाउँ मिल्ने उनीहरूको तर्क थियो । विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङलगायत बाँकी नेता प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए ।
आजै कारबाही गरेर अगाडि बढ्नुपर्छ भन्नेमा अध्यक्षलाई ईश्वर पोखरेलबाहेक कसैले साथ नदिएको स्रोतको दाबी छ । त्यसपछि अध्यक्ष ओली पछि हट्न बाध्य भएका थिए । हतारमा कारबाहीको निर्णय गर्दा उनीहरुले बोल्ने ठाउँ पाउने नेताहरूले बताएका थिए ।
नेताहरूले अध्यक्ष ओलीलाई फ्लोर क्रस गर्छन् भने पनि त्यसपछि कारबाही गर्न सकिने बताउँदै कारबाही गर्दा पनि सरकार ढल्छ भने कारबाहीको हतारो नगरौं भन्दै सुझाव दिएका थिए ।