ओलीले भने: नेतालाई सम्झाउने काम जारी छ, गुटको कुरै सुन्दिन
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि समूहलाई भागबण्डा नगर्ने बताएका छन् । वरिष्ठ नेता माधव नेपालसंग वार्ता भएको अर्को दिन उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले बिहीबार बिहान पार्टी कार्यालय शिलान्यास गर्दै पार्टीमा आउनेलाई व्यक्तिगतरुपमा जिम्मेवारी दिने बताए । गल्ती महसुस गरेर पार्टीमा फर्केर काम गर्न चाहन्छ भने जिम्मेवारी दिने गुटको प्रतिनिधित्व गर्न खोजे त्यो मान्य नहुने ओलीले बताए ।
उनले भने, “अहिले पनि सम्झाउने काम जारी छ । तर पार्टीमा अब अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौँ । अराजकतासँग सम्झौता गर्न सक्दैनौँ, व्यक्तिगत तवरमा सम्झाउने र जिम्मेवार दिन्छु, गुटको भागबण्डा अब हुँदैन । त्यस्तो भयो भने पार्टी भित्रभित्रै खोक्रो हुन्छ । गल्ती महसुस गरेर पार्टीमा आएर काम गर्न चाहन्छ भने जिम्मेवारी दिन्छौँ । गुटको प्रतिनिधित्व गर्न खोजे त्यो मान्य हुँदैन ।”