गोकर्ण विष्ट भन्छन्: हेक्का राखौँ, समय र छालले कसैलाई पर्खँदैन - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गोकर्ण विष्ट भन्छन्: हेक्का राखौँ, समय र छालले कसैलाई पर्खँदैन



काठमाडौँ- फुटको डिलमै पुगेको नेकपा एमालेमा लामो समयको संवादहीनता तोड्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बुधबार भएको भेटवार्ताले पार्टीको माथिदेखि तल्लो तहसम्म आशाको संचार गरेको छ । अहिले सामाजिक संजालमा पनि यो विषयले सकारात्मक संचार भएको देखिन्छ ।

यस्तैमा पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले पनि ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं’ भएको बताएका छन् । दुई नेताहरूको भेटले पार्टी कार्यकर्तामा आशा पलाएको पनि विष्टले बताएका छन् ।

जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ भन्ने विलियम शेक्सपियरको वाक्यलाई उद्ग्रित गर्दै उनले ​जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्‍नले समस्याको समाधान सम्भव रहेको बताएका छन् ।

कम्युनिस्ट पार्टीको ७२औँ स्थापना दिवसको शुभकामना दिँदै नेता विष्टले अनुसार पार्टीको एकतालाई जोगाउन संकल्प गर्न अपिल समेत गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ । विलियम शेक्सपियरले भनेजस्तै – “जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।” जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान संभव छ । हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खँदैन ।’

उनले अगाडी लेखेका छन्, ‘आज नेपाल कम्युनिस्ट पार्टीको ७२औँ स्थापना दिवस । हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौँ । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ ।’