एमाले मिलाउन ओलीलाई आफ्नैको दवाव, नेपाल पछि हटे
काठमाडौं- नेकपा एमालेमा माधव कुमार नेपाल पक्षका अधिकांश सांसद पार्टी विभाजन हुनु नहुने पक्षमा देखिएका छन् । बुधबार बिहान नेपाल पक्षका सांसदको बैठक बसेको थियो । बैठकमा सहभागी प्रायः सबैले नयाँ दल बनाउनेतिर नलागी एमालेभित्रै संघर्ष गरेमात्रै उपलब्धि हुने बताएका थिए ।
सांसदको बैठकपछि स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो । स्थायी कमिटी बैठकमा सांसदको बैठकबारे घनश्याम भुसाललगायतका नेताले ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मंगलबार नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । नेपाल पक्षीय सांसदलाई नयाँ दल गठन गर्न लागेको, पार्टीहित विपरित कार्य गरेको भन्दै दुई दिनभित्र स्पष्टिकरण बुझाउन उनले निर्देशन दिएका थिए । नेपाल पक्षले पनि समयभित्रै स्पष्टीकरण बुझाउन तर पार्टी विभाजन नगर्ने बताएका थिए ।
मिलाउन ओलीलाई दबाब
केही दिनअघि ओली पक्षका अधिकांश सांसदले पनि पार्टीलाई एक ढिक्का बनाएर नलगे आगामी निर्वाचन दुर्भाग्यपूर्ण हुने बताएका थिए । माओवादी एक ढिक्का नै रहेको, एमालेमात्रै विभाजन हुन खोजेका कारण आगामी निर्वाचनमा एकाध नेताबाहेक अन्यले निर्वाचन जित्ने सम्भावना नरहेको बताउँदै पार्टी एकता कायम राख्न सुझाव दिएका थिए ।
त्यसको जवाफमा ओलीले माधव नेपाल समूहका साथीहरूसँग कुराकानी भइरहेको र नेपालसँग पनि कुराकानी गर्ने तयारी भएको बताएका थिए । ओली पक्षका सांसदले नेपाल पक्षका नेताले जित्ने सम्भावना नभए पनि हराउनसक्ने प्रशस्त सम्भावना भएकाले पार्टी मिलाएरै जानुपर्ने सुझाव दिएका थिए ।
त्यसअघि नेपाल पक्षका सोमप्रसाद पाण्डे र ओली पक्षका विष्णु पौडेलबीच कुराकानी भए पनि सकारात्मक बन्न सकेको थिएन । अर्थमन्त्रीसमेत रहेका पौडेल बुधबार दिउँसो होटल मेरियटमै थिए । ओली र नेपाल पुगेपछि उनी निस्केर हिँडेका थिए । ‘बजेटसम्बन्धी छलफल थियो । उहाँहरूको भेटवार्ता पनि रहेछ । म कार्यक्रम सिध्याएर निस्किएँ’, अर्थमन्त्री पौडेलले भनेको नागरिकले लेखेको छ।