बिहानैदेखि वर्षा, दिनभर चट्याङ र हावाहुरीको सम्भावना
काठमाडौं- देशका धेरैजसो ठाउँमा अहिले वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारदेशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार (आज) दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ ।
अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई छ । पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने बिहीवार सुधार हुने सम्भावना कम रहेको मौसमविद्को दाबी छ ।
यस्तै बिहीवार देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।