एकाएक बालुवाटार किन छिरे योगेश भट्टराई ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

एकाएक बालुवाटार किन छिरे योगेश भट्टराई ?



काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेपछि य विषय चर्चामा छ ।

योगेशसहित माधव नेपाल पक्षका २७ जना संघीय सांसदलाई छुट्टै पार्टी बनाएको आरोपमा प्रधानमन्त्री ओलीले स्पष्टिकरण सोधेको भोलिपल्टै भट्टराई बालुवाटार पुगेका थिए ।

नेपाल पक्षका सांसदहरुसंग व्यक्तिगत रुपमा डिल गरिरहेका प्रधानमन्त्री ओलीले भेट्न बोलाएपछि भट्टराई बालुवाटार गएको बताइएको छ । भेटका क्रममा भट्टराईले पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीलाई बिशेष भूमिका खेल्न सल्लाह दिएको बताइन्छ । भट्टराईले उदार हृदयका साथ सबैलाई समेटेर जान प्रधानमन्त्रीलाई आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल पक्षका नेता तथा सांसदलाई आफूतिर तान्ने प्रयास गरिरहेका बेला एकाएक भट्टराई बालुवाटार पुगेपछि कतिपयले आशंका गरेका छन् । तर, उनी बरिष्ठ नेता माधव नेपालसँग सल्लाह गरेरै ओलीलाई भेट्न गएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

‘उहाँ हाम्रो पार्टी अध्यक्ष हो,भेट्न बोलाएपछि नजाने कुरा हुँदैन । अहिले हाम्रो पार्टी विशेष परिस्थितिमा भएका कारण शंका उब्जेको हुनसक्छ । तर,उहाँ यता सल्लाह गरेरै जानुभएको हो । कित्ता चेन्ज गरेको होइन ।’

एमालेमा दुई पक्षबीच आरोप प्रत्यारोप चलिरहेका बेला भट्टराई भने तुलनात्मक रुपमा नरम देखिएका छन् । यद्यपि उनलाई पनि स्पष्टिकरण सोधिएको छ ।