देउवासँग खनाल-नेपालले गरे यस्तो प्रस्ताव - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

देउवासँग खनाल-नेपालले गरे यस्तो प्रस्ताव



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समुहका दुई दर्जन बढी सांसदहरूलाई कारबाहीको डण्डा चलाएपछि नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न बुढानिलकण्ठ हानिए ।

सत्ताबाट ओलीलाई हटाउन सहयोग गर्नेगरी नेपाल समुहले तयारी थालेपछि पार्टीभित्र प्रधानमन्त्री ओलीले कारबाहीको डण्डा चलाउन थालेका हुन् । तर उनले कारबाही थालेपछि नेपाल र खनाल भने देउवा भेट्न उनकै निवासमा पुगे ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई हटाउन देउवाले नेतृत्व लिनुपर्ने उनीहरूको प्रस्ताव थियो । ओली तानासाही बन्दै गैरहेको भन्दै उनीहरूले अब उनलाई थप अगाडी बढ्न दिन नहुने बताएका थिए । भेटमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट जसरी पनि हटाउनुपर्ने बताएका थिए ।

उनीहरुले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गर्दै त्यसमा आफूहरुको सहयोग रहने बताएका थिए । पछिल्लो समय नेपाल–खनाल समूह माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीसँग मिलेर जाने रणनीतिमा छ ।

आफूविरुद्ध मोर्चाबन्दी कस्ने सुइँको पाएका प्रधानमन्त्री ओलीले कारबाही प्रक्रिया अगाडि बढाएका छन् । उनले सुध्रिएर आउन चेतावनी दिँदै ४८ घण्टे स्पष्टिकरण सोधेका छन् ।

सभापति देउवाले संसदमा संख्या नपुग्ने भन्दै ओलीलाई हटाउन नसकिने बताउँदै आएका थिए । उनले जसपा पनि सरकारमा मिल्न लागिरहेको भन्दै कांग्रेस र माओवादी केन्द्रको संख्याले नयाँ सरकार गठन गर्न असम्भव रहेको बताएका हुन् ।