भारतबाट फर्किए लगत्तै पूर्वराजा दम्पतीलाई कोरोना भएको पुष्टि
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ । भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
हरिद्वारमा आयोजित कुम्भ मेलामा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई स्वदेश फर्किएको केही दिनमै कोरोना संक्रमण देखिएको हो ।
हरिद्वारको कुम्भ मेलामा शाहलाई ‘हिन्दू सम्राट’को उपाधिसहित अभिषेक गराइएको थियो । उक्ता मेलामा लाखौं ‘भक्तजन’ले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाइ गंगामा स्नान गरेका थिए ।
भारतमा अहिले दैनिक २ लाख बढी कोरोना संक्रमितहरु थपिरहेका छन् । हरिद्वारबाट फर्किएकै दिन शाह दम्पतीले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।