अब बिमा अभिकर्तालाई ऋण दिन नपाइने
काठमाडौं- अब बिमा अभिकर्ताहरूले ऋण लिन नपाउने भएका छन् । बिमा समितिले बिमा अभिकर्ताहरुलाई ऋण दिन रोक लगाएपछि उनीहरूले ऋण नपाउने बहेका हुन् । यस विषयमा समितिले जीवन बिमा कम्पनीहरुलाई परिपत्र समेत जारी गरेको छ ।
जीवन बिमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै समितिले अभिकर्ताहरुलाई हालसम्म गरिएको कर्जासमेत आगामी असार मसान्तसम्म फरफारक गर्न निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई गरेको आन्तरिक परिपत्रमा बिमालेख धितोमा राखेर प्रवाह हुने कर्जा र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रवाह हुने कर्जाबाहेक अरु कसैलाई पनि कर्जा तथा सापटी नदिन निर्देशन दिइएको हो ।
बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई आकर्षित गर्नका लागि घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल खरिद शिर्षकमा करोडौं रकम कर्जा सूविधा दिँदै आएका थिए । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन अभिकर्ता आकर्षित गर्ने भन्दै कम्पनीहरुले अभिकर्तालाई धेरै सुविधा दिएकोले कर्जामा रोक लगाइएको जानकारी दिए ।
बिमा समितिले यसअघि नै कम्पनीहरुलाई पत्र पठाएर अभिकर्तालाई उपलब्ध गराएको सुविधाबारे जानकारी गराउन निर्देशन दिएको थियो । कम्पनिहरूले दिअको विवरण अनुसार हालसम्म कम्पनीहरुले पौने ८ अर्बभन्दा बढी ऋण अभिकर्तालाई दिएको पाइएको छ ।
बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई विभिन्न सुविधा दिएर नेटवर्क व्यवसायजस्तो चलाएका नियन्त्रण गर्नुपरेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।
हाल जीवन बिमा व्यवसायमा देशभर साढे २ लाख अभिकर्ता सक्रिय छन् ।
यसअघि समितिले बिमा कम्पनीहरुले काठमाडौंका अभिकर्ताहरुलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबाट अनिवार्य तालिम दिनुपर्ने व्यवस्था गरेको थियो । कम्पनीहरुले दिने तालिममा गुणस्तरमाथी प्रश्न गर्दै समितिले इन्स्टिच्युटबाटै तालिम दिन निर्देशन दिएको हो ।
हाल बिमा अभिकर्ताहरुले कम्पनीले तालिम दिए पनि समितिले लाइसेन्स दिँदै आएको छ ।