नेकपा एमाले तत्काल फुट्ने भीम रावलको संकेत
काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहका नेता भीम रावलले नेकपा एमाले तत्काल फुट्न सक्ने संकेत गरेका छन् । उनले पार्टीको नाम र चिह्न फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन समेत दिएका छन् ।
शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै रावलले पार्टी विभाजन प्रधानमन्त्री ओलीले चाहेको आरोप लगाउँदै स्थितिअनुसार आगामी निर्वाचनभन्दा अघि पार्टी फुट्न सक्ने बताएका हुन् ।
पार्टी अध्यक्ष ओलीले नै एमाले विभाजन गर्न खोजेको र आफूहरूले त्यसलाई रोक्न खोजेको रावलको दाबी थियो ।
उनले भने, ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ । हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौँ । तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ । त्यसका लागि तयार भइरहनुहोला ।’
यस्तै, नेता रावलले पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको बताए । कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताउँदै एमाले पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्नेको विरुद्धमा कर्णालीका सांसदहरूको कदम रहेको बताए । उनले कर्णालीसँगै सुदूरपश्चिममा पनि सो अवस्था देखिने दाबी गरे ।