प्रदीप ज्ञवाली भन्छन्: माओवादी र प्रचण्ड नभएपनि देश चल्छ - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

प्रदीप ज्ञवाली भन्छन्: माओवादी र प्रचण्ड नभएपनि देश चल्छ



काठमाडौं । परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नभएपनि देश चल्ने बताएका छन् । उनले सर्वदलीय बैठकमा अनुपस्थित भएकोमा आक्रोश पोख्दै माओवादी नभए पनि देश चल्ने टिप्पणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि प्रतिनिधि सहभागी नभए पछि मन्त्री ज्ञवालीले माओवादी नभए पनि देश चल्ने टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेस, जसपा, नेमकिपा तथा राप्रपाका नेताहरु सर्वदलीय वैठकमा सहभागी भए पनि माओवादी भने सहभागी भएन । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी भएनन् ।

यसैबीच, प्रधानमन्त्री ओलीले शुक्रबार बिहान दाहाललाई फोन गरेर भेट्न आग्रह गरेका थिए ।

“प्रचण्ड कमरेड बिहान कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटनमा हुनुहुन्थ्यो, त्यतिबेला फोन गर्नुभएको थियो । फोनमा उहाँले तपाईं, म शेरबहादुर देउवाजी बालुवाटारमा बसौँ, कुराकानी गरौँ भन्नुभएको थियो,” स्रोतले भन्यो, “प्रचण्डले बालुवाटारमा होइन भेट्ने हो भने सिंहदरबार तय गरौँ भनेपछि कुराकानी टुङ्गिएको थियो । पछि सर्वदलीय बैठक भनेर हल्ला भयो । यसबारे प्रचण्डसँग कुनै कुरा भएको छैन ।”

सर्वदलीय बैठक भनेर खबर नगरिएकाले प्रचण्ड सहभागी हुन अनुपयुक्त रहेको निष्कर्षमा पुगेको स्रोतले बताएको थियो ।