एमसीसी पारित गर्न नदिएको भन्दै सभामुखमाथि खनिए प्रधानमन्त्री - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

एमसीसी पारित गर्न नदिएको भन्दै सभामुखमाथि खनिए प्रधानमन्त्री



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍बाट एमसीसी पारित गर्न नदिएको भन्दै गुनासो पोखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सोचेअनुसार, संसद्मा काम हुन नसकेको बताए। एमसीसीलगायतका विषयमा सभामुख सापकोटाले संसद्मा काम गर्न नदिएको उनको भनाइ थियो।

बैठकमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले काम गर्न नदिएको गुनासो गरेको बताए। अध्यक्ष डा. लोहनीले भने, “बैठकमा संसद्ले जे गर्नु पर्ने थियो, त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो।”

यससँगै सवैदलीय बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न सबै दललाई आग्रह गरेका छन्। बैठकमा सहभागी सबै दलका नेतासँग प्रधानमन्त्री ओलीले सुझाव मागेका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी भएनन्। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित रहे।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी भएका छन्।