यामलाल कँडेलको सपना चकनाचुर पार्ने योजनाको नालीबेली
काठमाडौं- केन्द्रको राजनीति हल्लाउनेगरी कर्णाली प्रदेशले दिएको राजनीतिक झट्काले अहिले माहोल तताएको छ । एमालेभित्र विद्रोहको सुरुआतको रूपमा लिएको यो घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत झस्काएको छ ।
कर्णालीको राजनीतिक उथलपुथलभित्र एमालेका एक नेताको सपना समेत चकनाचुर बनेको छ । स्थानीय चुनाव सकिएलगत्तैदेखि मुख्यमन्त्री बन्न नपाएर छट्पटीएका एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कंडेलको सपना शुक्रबार हुरीले उडाएजस्तै भयो । आफ्नै पार्टीका सांसदहरूले उनको सपना साकार हुन दिएनन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन जोडबल गरिरहेका उनको योजना यसपटक पनि सफल हुन सकेन। असोज २५ गते कँडेलले आफ्नै नेतृत्वमा शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। जुन फिर्ता लिन उनी बाध्य भएका थिए।
शुक्रबार मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा विपक्षमा मतदान गरेर शाहीलाई हटाउने मौका पनि उनलाई थियो। तर, शाहीलाई हटाउने कँडेलको योजना नराम्ररी असफल मात्र भएन, आफ्नै दलका सांसदहरुले उनकै ह्विप उल्लंघन गर्ने अवस्था समेत बन्यो।
‘फ्लोर क्रस’ गर्नुअघि एमाले सांसद प्रकाश ज्वालासहितका ‘फ्लोर क्रस’ गर्ने सांसदहरु शुक्रबार विहान करिब ११ बजेसम्म मुख्यमन्त्रीको निवासमै थिए ।
उता एमाले संसदीय दलको कार्यालयमा दलको बैठकले उनीहरुलाई कुरिरहेको थियो । मुख्यमन्त्री निवासबाट निस्किएर उनीहरु बैठकमा सामेल भए । बैठकमा ज्यालाले संसदीय दलका निर्णय मान्ने संकेत गरेका थिए ।
फ्लोर क्रस गर्ने सांसदद्वय कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतलाई परास्त गर्ने भाषण गरेका थिए । त्यही बैठकले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।
बैठकबाट निस्केर प्रदेशसभा बैठक कक्षमा पुगेपछि भने उनी दलका नेता यामलाल कँडेलको दायाँतिर बसे । मतदान गरेपछि भने उनी पछाडिको लाइनमा गएर बसेका थिए । फ्लोर क्रस गरेका अन्य सांसद पनि ज्वालासँगै पछाडिको लाइनमा गएर बसे ।