तर्सिए शंकर पोखरेल - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

तर्सिए शंकर पोखरेल



काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तनावमा देखिएका छन् । कर्णालीमा एमालेकै सांसदहरूले ‘फ्लोर क्रस’ गरेपछि उनी झस्किएका छन् ।

पोखरेलले कर्णालीको राजनीतिक घटनाक्रमबाट पार्टी नेतृत्वले पाठ सिक्नुपर्ने संकेत गरेका छन् । शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णालीका ४ जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसै विषयलाई लिएर उनले पार्टी नेतृत्वलाई बेलैमा सचेत हुन समेत आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भैरहेका बेला कर्णाली प्रदेशको घटनाले सशंकित बनेका उनले पार्टी र आन्दोलनलाई रक्षा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका हरेक कदममा साथ् दिँदै आएका पोखरेलले अहिले भने होस् आएको महसुस गरेका छन् । एमालेमा झलनाथ खनाल-माधवकुमार नेपाल समूह पक्षको समानान्तर गतिविधिकै कारण कर्णालीमा पछिल्लो घटना घटेको पनि लुम्बिनीका मुख्यमन्त्री पोखरेलको दाबी छ ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौं, पार्टी र आन्दोलनको रक्षाका लागि निःसर्त पार्टी काममा जुटौं ।’

माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जना प्रदेश सांसदले मत दिएपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । त्यस्तै लुम्बिनीमा पनि माओवादी र कांग्रेस एमाले नेतृत्वको सरकार परिवर्तन गर्ने प्रयासमा रहेका छन् ।