प्रधानमन्त्री ओलीका योजनाबारे महन्थ ठाकुरले गरे यस्तो खुलासा
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेको खुलासा गरेका छन् । बाह्रखरी अनलाईनसंगको अन्तर्वार्ताको क्रममा उनले विशेष खुलासा गरेको बताइएको छ ।
उक्त अनलाईनका अनुसार ठाकुरले वर्तमान संसद् पाँच वर्ष नटिक्ने, प्रधानमन्त्री ओलीले २०७८ भित्रै चुनाव (अर्ली इलेक्सन) गराउने, संविधान संशोधन आयोग गठन हुनेसहितका विशेष खुलासा गरेका छन् ।
मधेसका मुद्दा सम्बोधनका लागि सत्ता पक्षसँग निरन्तर वार्तामा रहेका ठाकुरले संविधान संशोधन र संघीयताको सिमाङ्कनसहित हेरफेरका लागि आयोग गठन हुन लागेको बताए ।
ठाकुरले प्रधानमन्त्री ओली फागुनभित्र संघीय संसद्को निर्वाचन गराउने तयारीमा रहेको पनि खुलासा गरेका छन् । ठाकुरले संविधान संशोधन र संघीयताको सिमाङ्कनसहितका विषयमा सुझावका लागि कमिसन (आयोग) बन्दैगरेको समेत बताए ।
ठाकुरले मधेस तथा थरूहट आन्दोलनमा लगाइएका झुटा तथा राजनीतिक मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ताको रिपोर्ट केही दिनभित्रै सरकारले बुझ्ने जानकारी दिए ।