‘छिटो भेटौँ, जरुरी छलफल छ’ भन्दै ओलीले प्रचण्डलाई गरे फोन
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्न बोलाएको विषयले अहिले माहोल तताएको छ ।
कुनै बेलाका परम मित्र र अहिलेका परम दुश्मन ओली-प्रचण्डबीच सर्वोच्च अदालतले एकता खारेज गरेपछि कुनै संवाद भएको थिएन ।
अत्यन्तै तिक्ततापूर्ण सम्बन्ध भएको बेला प्रधानमन्त्री ओली आफैले फोन गरेर बोलाएपछिको अवस्थालाई अर्थपूर्ण मानिएको छ । सार्वजनिकरुपमा एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका उनीहरुबीच शुक्रबार संक्षिप्त टेलिफोन संवाद भएको बताइएको छ।
शुक्रबार आफूलाई प्रधानमन्त्री ओलीले फोन गरेको प्रचण्डले बताएका छन्। तर आफू कार्यक्रममा भाग लिइरहेकाले प्रधानमन्त्री ओलीसँग लामो कुरा हुन नसकेको प्रचण्डले बताएका छन्।
ललितपुरको कोन्जोसोम गाउँपालिकाको नवनिर्मित भवन उद्घान समारोहमा आफू सहभागी भइरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको उनले खुलाएका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीको फोन आएपछि कोन्जोसोम गाउँपालिकको नवनर्मित भवनको उद्घाटन गर्दैछु भनेँ। तर अब यहाँको बाटो बनाइदिनुहोस् भन्नेवाला छु। बाटो निर्माणमा मेरो पनि सहयोग रहनेछ।’
फोनमा ओलीले एउटा जरुरी राजनीतिक छलफल गर्नुपर्ने भएकाले छिटो भेटौँ भन्ने प्रस्ताव गरेका थिए। प्रचण्डले भने भरे ‘अहिले म कार्यक्रम छु, यहाँबाट निस्केपछि मिलाएर भेटौंला’ भनेका थिए।
प्रचण्ड उक्त कार्यक्रमबाट हिंडेका छन् । प्रधानमन्त्री ओलीसंग थप कुराकानी गरेर भेट्ने प्रचण्डको योजना रहेको प्रचण्डनिकट एक नेताले बताए ।