प्रचण्डमाथि प्रधानमन्त्री ओलीको हमला - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रचण्डमाथि प्रधानमन्त्री ओलीको हमला



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाममा वामपन्थी कामका दक्षिणपन्थी भएको बताएका छन् । ध्वस्त पार्न नसकेपछि प्रतिगमन भयो भन्दै हल्ला चलाउने दक्षिणपन्थी भएको उनको आरोप थियो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा अहिले कुनै प्रतिगमन नभएको बताए । ओलीले आफू प्रधानमन्त्री बन्न नपाएपछि प्रचण्डले प्रतिगमनको हल्ला चलाएको बताएका छन् ।

‘आफू प्रधानमन्त्री हुन पाएन भनेर प्रतिगमन भो भनेर आँगनमा कराउन थालेका छन्, ’ उनले भने, ‘अहिले त्यस्तै स्यालहुइँया चलाउने मान्छे छन् । के हो प्रतिगमन ? यीनीहरूले परिवर्तन नै देख्या रैन्छन् क्या हो । प्राप्त परिवर्तन र उपलब्धी गुमे भने । गणतन्त्र गुम्यो भने, व्यवस्थालाई सन्चालन गर्ने संविधान खोसियो भने प्रतिगमन हुने हो । अहिले कसैले संविधान खोस्या छ र ? छैन । व्यवस्था पल्टिएको छ र ? छैन । लोकतन्त्रका आधारहरू केही तलमाथि परे र ? छैन । केही मान्छेका महत्वकांक्षा पूरा हुन पाएन । लुटपाट गरेर सरकारमा पुग्नुपर्ने, लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने, त्यो कुरा रोकियो । त्यो भएपछि प्रतिगमन भयो ।’

उनले प्रतिगमनको हल्ला चलाउनेहरू वामपन्थीका नाममा दक्षिणपन्थी भएको समेत आरोप लगाए । अहिले उनीहरू सरकार ढलाउन गुहार मागिरहेको बताए । ‘ध्वस्त पार्न नसकेपछि प्रतिगमन भयो भने हल्ला चलाउने । यस्ता शब्दिक क्रान्तिहरू । नाममा वामपन्थी कामका दक्षिणपन्थीहरू हुन् । सत्ता कब्जा गर्ने । कब्जा गर्दागर्दै सबै किलाकाटा खुस्कियो । सकिएन भने प्रतिगमन भयो भन्ने । छिमेकी के भएका भन्ने । किन बोल्दैनन् भन्ने । म कन्फरटेबल सरकार बनाउथे नि भन्ने । कांग्रेस सभापति शेरबहाुर देउवा कहाँ हल कसेर प्रधानमन्त्री खाइदिनुस् भनेको सुन्नु भएको छ होला । सरकार ढाल्नका लागि मद्दत माग्न पुगिराखेका छन् ।’