भारतीय नेताको गोप्य भ्रमण, देउवा-प्रचण्ड गोप्य भेट र जसपाको गोप्य प्रस्ताव
काठमाडौं- नेपालको राजनीतिमा केहि दिनयता अनौठा घटना देखिन थालेका छन् । नयाँ सत्ता समीकरणका लागि केही महिनादेखि तीव्र रस्साकस्सी चलिरहेका बेला यस्ता अप्रत्यासित घटना देखिन थालेको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्त गरेर नयाँ सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी लागिरहेका बेला वैदेशिक हस्तक्षेपको समेत गन्ध आउन थालेको छ । आइतबार मात्रै भारतीय जनता पार्टी (बीजेपी) का सांसद समेत रहेका देबेन्द्र सिंह भोले नेपाल आएर केहि महत्त्वपूर्ण भेटघाट गरी गोप्य शैलीमा फर्केका छन्।
भोले आइतबार अपरान्ह काठमाडौं ओर्ले, उनले महत्वपूर्ण भेटघाट समेत गरे, तर कसैले त्यसको सुइँको समेत पाएनन् । भोले सहितको टोली आइतबार सवा ३ बजे एयर इण्डियाको फ्लाइटबाट काठमाडौं आएर होटेल र्याडिसनमा बसेका थिए । उनले महत्वपूर्ण राजनीतिक भेटघाट गरी सोमबार ११ बजे कतार एयरवेजबाट दोहा प्रस्थान गरे ।
छुपारुस्तम शैलीको उनको भ्रमण सत्ता समीकरण परिवर्तनकै लागि भएको स्रोतको दाबी छ । उनको भ्रमणपछि राजनीतिक दलहरुले गरेका अभ्यास पनि फरक खालका छन् । सत्तारुढ दल नेकपाको विघटन र एमालेमा आन्तरिक विभाजनका कारण प्रधानमन्त्री केपी शर्मा ओली सरकार व्यवहारत अल्पमतमा परे पनि दलहरु निर्णय लिन सकेका छैनन्।
देउवालाई जसपा नेताहरूको वचन
यसै क्रममा जनता समाजवादी पार्टीका दुई अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष सरकार बदल्न नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । स्रोतका अनुसार उनीहरूले देउवालाई जसपाभित्र आफूहरूले माहोल मिलाउने बचन समेत दिएका छन् ।
पछिल्लो समय जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन बनाउने समूह बलियो बनेपछि यादव र भट्टराईले नेतृत्वको विषयमा महत्वपूर्ण प्रस्ताव लगेका हुन् । देउवाले भने आफ्नै नेतृत्वमा सरकार निर्माणको प्रयास गर्दै आएका छन् । जसपाको महन्थ ठाकुर पक्षधरले भने कि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कि ओलीसँग मिलेर जाने विकल्प तयार गरेको छ ।
जसपाको यादव र भट्टराई पक्षधर भने ओलीको विकल्मा सत्ता समिकरण गर्ने पक्षमा छन् । उनीहरु जसपा नेतृत्वको सरकारको पक्षमा रहेपनि लचिलो रुपमा छलफलमा प्रस्तुत हुँदै आएका छन् । यो अवस्थामा बुधबार देउवासँग उनीहरूले गरेको भेटलाई अर्थपूर्ण मानिएको छ ।
देउवा-प्रचण्ड गोप्य भेट
भाजपाका नेता भोले नेपाल आएपस्चात अर्को अप्रत्यासित घटना हो कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको गोप्य भेट । आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार राति भेटवार्ता भएको छ । धुम्वराही चप्पल कारखाना नजिक व्यवसायी प्रमोद राणाको निवासमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको सुरक्षा स्रोतले बतायो ।
स्रोतका अनुसार दुवै नेता सुरक्षा सहयोगी बिनै ती व्यवसायीको घरमा पुगेका थिए । वैकल्पिक सरकार गठनको गृहकार्यमा लागेको प्रचण्ड र देउवाबीच मंगलवार भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । चैत्र २० गते कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । त्यसको एक सातापछि गत शुक्रवार कांग्रेसले माओवादी केन्द्र र जसपासँग सरकार बनाउनको लागि सहयोग मागेको थियो ।