ओलीले सबै बिगारे, राजसंस्थाको विकल्प छैन: पशुपति शम्शेर - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीले सबै बिगारे, राजसंस्थाको विकल्प छैन: पशुपति शम्शेर



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताएका छन्।

राप्रपा अध्यक्ष राणाले भने ‘केपी शर्मा ओली प्रधानमन्त्री भएको साढे तीन वर्षमा नेपाली जनतालाई भलो भएको देखिन्न। स्पष्ट बहुमतका बाबजुद राजनीति, समय अन्योलमै बित्यो। दुईतिहाइ बहुमतको अवसर त्यसै खेर फालियो ।’

नव वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले भने, ‘कोरोना महामारी, गिर्दो अर्थतन्त्र, नैतिक ह्रास र अस्थिरताबीच हामी नव वर्ष २०७८ मा प्रवेश गर्दैछौं। अब के हुन्छ भन्नेमा अन्योल कायम नै छ।’

उनले भने, ‘अहिलेकै अवस्थामा देश, राजनीति चल्दैन भन्ने जनभावनाबीच राप्रपाप्रति आकर्षण स्वभाविक बढेको छ। यसैबीच पार्टी महाधिवेशनलाई संगठन निर्माण गर्ने आधारको रुपमा हामीले लिएका छौं।’

राजसंस्थाको अभिभावकीय भूमिकामा जोड दिँदै अध्यक्ष राणाले भने, ‘दलीय प्रतिनिधिबाट राष्ट्रप्रमुखको निष्पक्ष भूमिका निर्वाह हुन्न भन्ने यथार्थ अवस्था अनुभवबाटै स्थापित भएको छ। त्यसैले प्रजातन्त्र, राष्ट्रियता सुढृद तुल्याउन, दलभन्दा माथि रहने उही पुरानो संस्था, राजसंस्थालाई निष्पक्ष राष्ट्रप्रमुख कायम गर्नु पर्छ भन्ने हाम्रो विश्वास हो। सनातन सापेक्ष हिन्दुराष्ट्र कायम गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो।’

सूचना प्रविधिको वर्तमान परिवेशमा स्वार्थको चलखेल नै हुँदैन भन्न सकिन्न, सन्देशमा राणाले भने। ‘यद्यपि विभिन्न स्वार्थका अतिरिक्त राष्ट्रवादी शक्ति अघि बढ्ने हो, राष्ट्रवादी शक्तिले नै आफ्नो विचार कायम गराउने हो। परिवर्तन अन्तत्वगत्वाः नेपाली तत्वबाटै प्राप्त हुने हो।’

उनले भने, ‘यही मनोकामनासहित आगामी दिनमा राष्ट्रिय स्वार्थ, राष्ट्र हित कायम हुन्छ भन्ने विश्वास राखौं। नयाँ वर्ष २०७८ को पुनित अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सफलता, सुकीर्तिको हार्दिक शुभकामना।’