दुश्मन भनेपछि बाइडेन आफैले पुटिनलाई फोन गरे
एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपतिबीच मंगलबार कुराकानी भएको छ । रुसले अमेरिकालाई दुश्मन भनेको केही घण्टापछि दुबै नेताबीच कुराकानी भएको ह्वाइटहाउसले विज्ञप्तिमार्फत् जनाएको हो ।
‘राष्ट्रपतिले रुसी कब्जामा रहेको क्राइमिया र युक्रेनको सीमा वरपर रुसले एक्कासि सैन्य उपस्थिति बढाएकोबारे चासो व्यक्त गरेका थिए र रुसलाई तनाव कम गर्न भनेका थिए’, ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, बाइडेनले कुराकानी क्रममा राष्ट्रिय स्वार्थ रक्षाका लागि अमेरिकाले सबै कमद चाल्ने बताएका थिए । ‘साथै राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वार्थको रक्षाका लागि अमेरिकाले प्रतिबद्ध भएर साइबर हमला तथा हस्तक्षेप जस्ता रुसी क्रियाकलापको कडा जवाफ दिने भनेर प्रस्ट पारेका थिए’, विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय रुसले युक्रेनी सीमा नजिकै सैन्य उपस्थिति मजबुत पारेपछि अमेरिकाले युक्रेनलाई सबै खाले सहयोग उपलब्ध गराउने बताएको थियो । तर रुसले युक्रेनलाई सहयोग गर्ने कदमको आलोचना गर्दै अमेरिकालाई आफ्नो दुश्मन भएको बताएको थियो ।
रुसले दुश्मन भनेको केही घण्टापछि नै बाइडेन र पुटिनबीच कुराकानी भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । कुराकानी क्रममा बाइडेनले पुटिनलाई तनाव कम गर्न आग्रह गरेको समाचारमा बताइएको छ ।
बाइडेनले जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि पुटिनसँग दोस्रो पटक कुराकानी गरेका हुन् । उक्त कुराकानीका क्रममा बाइडेनले पुटिनसँग तेस्रो मुलुकमा शिखर सम्मेलन गर्न चाहेको बताएका थिए । साथै, युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति अमेरिका प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।