भिम रावलविरुद्ध आर्थिक अपचलनको मुद्दा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

भिम रावलविरुद्ध आर्थिक अपचलनको मुद्दा



काठमाडौं- नेकपा एमालेका नेता भिम रावलविरुद्ध आर्थिक अपचलनको मुद्दा दर्ता हुने भएको छ । एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले रावलविरुद्ध मुद्दा दर्ताको तयारी गरेका छन् ।

पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै रावलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको बताएका छन् । अहिले एमाले सुदुरपश्चिममा तनावको अवस्था देखिएको छ ।

नेता रावलले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ झिकेको भन्दै अध्यक्ष थापाले मुद्दा दर्ता गर्ने तयारी गरेका हुन् । उक्त रकम व्यक्तिको खातामा भेटिएको अध्यक्ष थापाले जानकारी दिए ।

उनले कार्यालय सचिव दिनेशचन्द्र भण्डारीको खातामा ३० लाख रुपैयाँ रकम फेला परेको बताए । कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ खाता नम्बरबाट ३० लाख रुपैयाँ झिकेको खुलेको हो ।

उक्त रकम तत्कालिन सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षरबाट रावलको निर्देशनमा उक्त रकम झिकिएको थापाको आरोप छ । उनले रावलसहित चौधरी, सुवेदी र कृषि विकास बैंकविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए ।

यसअघि नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष थापालाई कारबाही गरेको थियाे ।

भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले थापालाई पार्टीको विधान, नियमावली, पद्धती र मान्यताको उल्लंघन गरी, पार्टी कार्यालय तोडफोड र गुन्डागर्दी गरेको भन्दै कारबाही सिफारिस गरेकाे थियाे ।