फरार सूचीमा रहेका 'पावरफुल' गच्छदार - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

फरार सूचीमा रहेका ‘पावरफुल’ गच्छदार



काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार यति शक्तिशाली छन् कि उनी विशेष अदालतको फरार सूचीमा रहेर पनि खुलेआम कार्यक्रमहरूमा सहभागी भैरहेका छन् ।

अदालतले दिएको आदेश पटक पटक उल्लंघन गर्दै आएका गच्छदार नयाँ सरकार निर्माणमा सक्रियतापूर्वक लागेका छन् । अदालतले उनको घरमा म्याद तामेल गर्न आदेश दिएकै दिन पनि उनी नयाँ सरकार गठन गर्नमा सक्रिय थिए ।

गत शुक्रबार गच्छदार तीन दलको बैठकमै सहभागी भए भने ओलीलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन मधेसी दलसंग सहयोग मागे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

अदालतले बयानका लागि बोलाउँदा पनि भाग्दै हिँड्ने व्यक्ति नै नयाँ सरकार गठन प्रक्रियामा सक्रिय भएपछि यसलाई अर्थपूर्ण मानिएको छ । उनी पहिले देखि नै राजनीतिमा शक्तिको खेल चलाउने नेताका रूपमा चिनिन्छन । गच्छदारलाई कांग्रेसका शीर्ष नेताहरुले संरक्षण गरिरहेको बुझिएको छ ।

कांग्रेस शीर्ष नेताहरूले गच्छदारलाई बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत मद्दत मागेका थिए ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।

मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित भएका छैनन् । म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए। तर, यस अवधिमा पनि उनी अदालत पुगेनन्।