प्रचण्डले गरे आफूलाई मदन भण्डारीसँग तुलना - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

प्रचण्डले गरे आफूलाई मदन भण्डारीसँग तुलना



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई दिवंगत नेता मदन भण्डारीसंग तुलना गरेका छन् । शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षणमा उनले एमालेकै नेताहरूले आफूलाई अर्को मदन भण्डारी भन्ने गरेको बताए ।

प्रचण्डले एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा आफ्नो भूमिका देखेर पूर्व एमालेका नेता कार्यकर्ताले अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित हुने गरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले सञ्चालन गरेको केन्द्रीय समिति बैठक र प्रशिक्षणलाई हेरेर पूर्व एमालेका नेता कार्यकर्ता उत्साहित हुने गरेको बताए।

उनले नेकपामा आफ्नो भूमिका बढ्दै गएपछि केपी शर्मा ओली आतंकित बनेको र देशी विदेशी प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउने अभियानमा लागेको बताए।

‘केही पूर्व एमाले आएर भने–कमरेड तपाईंले केन्द्रीय समिति बैठक सञ्चालन गरेको पनि हेरियो, तपाईको प्रशिक्षण पनि सुनियो। हामीले मदन भण्डारी भेटियो। उहाँहरुको भावना त्यो थियो, अर्को मदन भण्डारी भेटियो भन्ने थियो’, अध्यक्ष प्रचण्डले भने, ‘यसबाट केपी ओली लगायतका दक्षिणपन्थी आतंकित भए। खाने भयो माओवादीले, लाने भयो प्रचण्डले भन्ने भएपछि देशिविदेशीसँग मिलेर प्रचण्ड र माओवादीलाई नसिध्याउने हो भने हाम्रो केही रहने भएन भनेर षड्यन्त्र र गुटबन्दीमा लागे। भित्री र गुदी कुरा यही हो।’

अध्यक्ष प्रचण्डले ओलीविरुद्ध मोर्चाबन्दी सुरु भएको बताए। उनले एमालेको एक समूह, जसपासँग मोर्चा हुने र कांग्रेससँग सरकारमा सहकार्य र चुनावमा तालमेल हुनसक्ने बताएा।

‘नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिरहेकै छ। जसपाका नेताहरुसँग हाम्रो ुवेभ लेन्थु धेरै नै मिल्छ। उहिल्यैदेखि मिल्दै आएको हो। त्यहाँ पनि मोर्चा बन्‍न सक्छ’, उनले भने, ‘नेपाली कांग्रेससँग कम्तीमा सरकारमा सँगै र चुनावमा पनि तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ।’ उनले मोहनविक्रम सिंह र मोहन वैद्यसँग पनि मोर्चा बन्ने भन्दै त्यो तुरुन्तै भने नहुने बताए।

उनले अहिले पत्रकार महासंघको निर्वाचनमा ओलीलाई चौथो नम्बरमा पु¥याएको भन्दै अबको निर्वाचनमा ओली नेतृत्वको नेकपालाई चौथो नम्बरमा पु¥याउने दावी गरे।

‘अहिले पत्रकार महासंघको चुनावमा मोर्चा बनाएर हामीले देशैभरि मूलभूत रुपमा जितियो, ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ’, उनले भने, ‘आउने चुनावमा हामीले राम्रोसँग मोर्चा बनायौं, इमानदार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बरमा पुग्‍ने पालो केपीको हो।’