प्रचण्डलाई देउवाको खुच्चिङ
काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवाले संसदमा आफ्नो संख्या कम भएकाले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान नसकेको बताएका छन् । काँग्रेस एक्लैको संख्या नपुग्ने र अरुलाई आग्रह गर्दा सहयोग नपाएको उनको दुःखेसो छ ।
नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेलालाई शुक्रबार काठमाण्डौंमा सम्बोधन गर्दै उनले सरकार गठनमा काँग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा काँग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे । वरिष्ठ नेता रामचन्द्र पौडलतर्फ संकेत गर्दै सरकार गठनमा काँग्रेसले पहल नै गरेन भन्नु गलत भएको उनको ठोकुवा थियो ।
शुक्रबार दिउँसो तीन दलको बैठक बोलाएको उल्लेख गर्दै देउवाले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्नसमेत कार्यकर्तालाई आग्रह गरे ।
‘काँग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि । चुनावमा जानैपर्ने बाध्यता हुनसक्छ । चुनावमा जनताको मन जितेर सरकार बनाउनुपर्छ । जनताले बिर्सिसर्के सके,’ देउवाले भने ।
सभापति देउवाले आफूले पटक–पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी मिलाउन गएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘बल्ल थाहा पाएको’ भनी कटाक्ष पनि गरे ।
‘मैले प्रचण्डलाई तपाइ नै प्रधानमन्त्री बन्नु भनेको हो नि ! तर उनी उता गइदिए । तपाइ नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पायो प्रचण्डले अहिले आएर । धेरै पटक प्राइममिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ?,’ उनले भने, ‘तपाईंहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म प्राइममिनिस्टर हुन चाहेको पनि छैन । जोसुकै होस् ।’
देउवाले ओलीविरुद्ध एकजुट हुन सबैलाई आव्हान पनि गरेका थिए । प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भातृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध भोलिका दिनमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । उनले भने ‘ओलीले सत्ता कब्जा गर्ने कोशिस गरेको छ । उसले चाहेर कब्जा हुँदैन । त्यसैले भोलिको दिनमा एक भएर लाग्नुपर्छ ।’