देउवाको नयाँ प्रस्ताव: माओवादी सकारात्मक, जसपाले चासो दिएन - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

देउवाको नयाँ प्रस्ताव: माओवादी सकारात्मक, जसपाले चासो दिएन



काठमाडौं- नेपाली कांग्रेसले बैठक बोलाएर सरकारको नेतृत्व गर्नेबारे औपचारिक रुपमा प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूलाई निवासमै बोलाएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुले कांग्रेसनेतृत्वमा सरकार बनाउनका लागि औपचारिक प्रस्ताव गरेको बताए । उनका अनुसार सभापति देउवाले सुरुमै कांग्रेसको आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय सुनाएका थिए ।

पार्टीको निर्णय सुनाउँदै देउवाले तपाईंहरुले समर्थन गर्नुपर्‍यो भनेर दुई दलका नेतालाई आग्रह गरेका थिए । बैठकमा देउवाले अब ओलीलाई झेल्न नसकिने निर्णय सुनाउँदै उनको हातबाट लोकतान्त्रिक चुनाव हुन नसक्ने बताएका थिए ।

छलफलका क्रममा देउवाले प्रधानमन्त्री ओली सर्वसत्तावादी भएको तथा प्रहरी, प्रशासन र आर्मीलाई आफू अनुकुल चलाउन खोजेको बताएका थिए।

माओवादी केन्द्रले देउवाको प्रस्तावलाई सकारात्मक रूपमा लिएपनि जनता सामाजवादी पार्टीले भने चासो दिएको छैन। जसपाले यस विषयमा छलफल गरेर मात्रै निष्कर्षमा पुग्ने बताएको छ।

जसपाले केही समयमै आफ्नो दलको बैठक बसेर यस विषयमा निर्णय लिने बताएको छ। आफ्ना केही एजेन्डा र मुद्दा रहेकाले ती विषयलाई समेत शुक्रबारको बैठकमा जसपाका नेताले उठाएका थिए।