माओवादी र जसपामाथि देउवाले लगाए गम्भीर आरोप
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको विकल्प खोज्न आफूले ठुलो प्रयास गरेको बताएका छन् । आफूले प्रयास गर्दागर्दै पनि माओवादी र जसपाले गर्दा अहिलेसम्म सरकार बदल्न सम्भव नभएको बताएका छन् ।
नयाँ सरकारबारे छलफल गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई देउवाले बैठकमा बोलाएका छन् । बैठक बोलेकै दिन उनले माओवादी र जसपामाथि यस्तो आरोप लगाएका हुन् ।
देउवाले नयाँ प्रधानमन्त्रीका लागि अन्य नाममा पनि छलफल गर्न तयार रहेको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई शुक्रवार राजधानीमा सम्बोधन गर्दै देउवाले त्यही विषयमा छलफलका लागि आज तीन दल (कांग्रेस, माओवादी र जसपा)को बैठक बोलाएको बताए ।
‘आज मिटिङ बोलाएको छु, कांग्रेस सभापतिले वास्तै गरेन भन्लान् भनेर । तयार पार्नुस्, जो पनि प्रधानमन्त्री हुन्छ भने मलाई केही छैन,’ देउवाले भने, ‘तपाईंहरू छलफल गर्नुस्, म तयार छु नि, कहाँकहाँ सही छाप गर्नुपर्छ, म तयार छु ।’
नयाँ सरकार गठन हुन नसकेमा भने चुनाव नै विकल्प हुने उनको भनाइ थियो ।
‘कुनै किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि । चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ । चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ । जनताले बिर्सिसके,’ देउवाले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यसत्ता कब्जा गर्न खोजेको आरोप लगाए । ‘ओलीले सत्ता कब्जा गर्ने कोशिश गरेको छ, उसले चाहेर कब्जा हुँदैन, त्यसैले भोलिका दिनमा एक भएर लाग्नुपर्छ,’ देउवाले भने ।
कांग्रेस केन्द्रीय समितिले देउवाको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । तर देउवाले भने माओवादी वा जसपाबाट पनि प्रधानमन्त्री खोज्न सकिने संकेत गरेका हुन् ।