संक्रमण बढेपछि भौतिक कक्षा बन्द, अब अनलाइन कक्षा मात्रै
काठमाडौं- कोरोना संक्रमण पुनः बढेको भन्दै काठमाडौं विश्वविद्यालयले भौतिक कक्षा संचालन बन्द गरेको छ। अब अनलाइनमार्फत् मात्रै कक्षा संचालन गरिने विश्वविद्यालयले उल्लेख गरेको छ।
विश्वविद्यालयमा उपस्थित भएर भौतिक रूपमा पठनपाठन सञ्चालन गर्न जोखिम हुने भएकाले भौतिक कक्षा संचालन बन्द गर्नु परेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाई भएकोले क्षति न्यूनीकरण गर्ने उद्देश्यले २०७७ चैत्र २६ देखि २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रमको पठनपाठन अनलाइनमार्फत् गर्ने निर्णय गरिएको।’
उक्त अवधिमा स्कुल तथा विभागीय प्रशासन भने संचालन भइरहने विश्वविद्यालयले जानकारी गराएको छ। यसका साथै अनुसन्धान तथा प्रोजेक्टका कार्य सम्बन्धित प्रमुखहरुको निर्णयबमोजिम हुने सूचनामा उल्लेख छ।