सुर्य थापाको अमानवीय चरित्र: राजिनामा दिन दवाव
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा सधैजसो विवादको केन्द्रमा रहने नाम हो । कहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल दुरुपयोग गरेर त कहिले छुद्र र अराजक शैलीमा नेतालाई गाली गरेर । अहिले भने उनले अमानवीय चरित्र देखाएका छन् ।
आफ्नो पदीय मर्यादा नै बिर्सेर नैतिकताको समेत ख्याल नगरी थापाले धेरै पटक यस्ता गतिबिधि गरिरहेका छन् । एमालेका नेता समेत रहेका थापाका बिषयमा पार्टीका बैठकमा समेत धेरैपटक कारबाही गर्नुपर्ने आवाज उठेको थियो । तर अन्य नेतामाथि कारबाहीको डण्डा बर्सिंदा उनी भने पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट झनै पुरस्कृत हुने गरेका छन् ।
बिहिबार पनि सुर्य थापा विवादको केन्द्रमा रहे । अमानवीय तरिकाले लेखेको ट्विट केहि समयमै डिलिट गर्न उनी बाध्य भए । उनले लेखेको ट्विट अमानवीय र अत्यन्तै असंवेदनशील भन्दै व्यापक आलोचना भयो । ट्विटर प्रयोगकर्ताहरूले उनको ह्यान्डल नै बन्द गराउन रिपोर्ट गर्न थालेपछि उक्त ट्विट हटाउन उनी बाध्य भएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावविह्वल भई रोएको फोटोसहित ‘लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तै पनि पुनरावलोकनको रोइलो सकिएको छ’ लेखेका थिए। थापाले सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला पुनरावलोकनको माग राखेर प्रचण्डको निवेदनमाथि यसअघि कै फैसलालाई सदर गर्दै पुनरावलोकलन नहुने आदेश दिएपछि व्यंग्य गरेका थिए।
बिहीबार अपराह्न ४:१० बजे थापाले गरेको ट्विटविरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीको सल्लाहकारजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहेको पात्रले अत्यन्तै घृणित र संवेदनाहीन प्रतिक्रिया दिएको भनेर व्यापक आलोचना गरेपछि थापा आफ्नो ट्विट एक घण्टाभित्रै डिलिट गर्न बाध्य भएका हुन्।
न्यूनतम मानवीयता र सामाजिक मर्यादासमेत गुमाएको भन्दै ट्विटर प्रयोगकर्ताले थापाको ट्विटर ह्यान्डल ससपेन्ड गर्न रिपोर्टसमेत गरेका छन्। अमानवीय ट्विट गरेको भन्दै प्रयोगकर्ताहरूले थापाको ह्यान्डल बन्द गराउन सम्बन्धित निकायमा धमाधम रिपोर्ट गर्ने अभियान नै चलाएका थिए ।
थापाले ट्विटरमा राखेको प्रचण्डको भावविह्वल तस्बिर छोरा प्रकाश दाहाल निधन हुँदाको हो। २०७४ मंसिरमा प्रकाशलाई श्रद्धाञ्जलि दिन पार्टी कार्यालयमा आयोजित शोक सभाका बेला उक्त तस्विर खिचिएको थियो ।
थापाले हाल उक्त पोष्ट हटाएर फैसला भन्दै सर्वोच्च अदालतको आदेशको फोटो राखेका छन्।
अहिले सामाजिक सञ्जालमा सुर्य थापाको राजिनामा मागिएको छ । नैतिकता र मर्यादा थाहा नहुने व्यक्ति यस्तो पदमा बस्न नसुहाउने भन्दै सञ्जाल प्रयोगकर्ताहरूले उनको राजिनामा मागेका छन् ।
मानवीय समवेदना समेत नरहेको व्यक्ति प्रधानमन्त्रीको सचिवालयमा बसेर पटक पटक विवादमा पार्ने काम गरेको भन्दै कतिपय एकालेकै कार्यकर्ताले सञ्जालमा आक्रोश पोखेका छन् ।