प्रचण्डलाई अब जसपाको भर - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

प्रचण्डलाई अब जसपाको भर



काठमाडौं- राजनीतिक संकट देखिएको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने म्याराथन दौडमा छन् । सर्वोच्च अदालतले पार्टी एकता नै भत्काएर पूर्ववत अवस्थामा फर्काएपछि फैसला पुनरावलोकनका लागि मंगलबार सर्वोच्च अदालत पुगेका प्रचण्डले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन् ।

एमाले र माओवादीलाई ब्युँताएर सर्वोच्च अदालतले राजनीतिक फैसला गरेको भन्दै पुनरवलोकनका लागि निवेदन दिएकै दिन प्रचण्डले राजनीतिक भेटघाटलाई तीव्र पार्नुलाई अर्थपूर्ण मानिएको छ ।

सर्वोच्चमा निवेदन दिएपछि मंगलबार प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको बुढानिलकण्ठस्थित निवासमा पुगेका छन् । भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइए पनि सत्ता समिकरणको बिषयमा छलफल भएको स्रोतको दाबी छ ।

लामो समयपछि देउवा भेट्न पुगेका प्रचण्डले अबको सरकारको नेतृत्व गर्न देउवालाई यसअघिनै आग्रह गरिसकेका थिए । देउवाले भने समय परिपक्क नभएको भन्दै सरकारमा जान हतार नभएको बताएका थिए । देउवाको यहि अभिव्यक्तिका कारण प्रधानमन्त्री ओलीलाई साथ् दिएको आरोप लाग्ने गरेको छ ।

स्रोतका अनुसार आजको भेटमा प्रचण्डले देउवालाई अब सरकार परिवर्तन गर्न ढिला गर्न नहुने बताएका थिए । त्यतिमात्र होइन सरकारमा जाने मुड नभए आफूहरूलाई सघाउन र जसपाको नेतृत्वमा सरकार निर्माण गर्न सकेट प्रस्ताव प्रचण्डले गरेको बुझिएको छ।

बुढानिलकण्ठमा देउवालाई भेटेलगत्तै प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटेर छलफल गरेका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिन र अब ओली इतरका शक्तिहरू मिलेर अगाडी बढ्नुपर्ने कुरामा ढिलाई नगर्न बाबुरामले प्रचण्डलाई आग्राह गरेका थिए ।

केही दिन अघि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । उनले त्यस्तो बताएपछि एमालेका असन्तुष्ट नेता माधव नेपालसँग भेट गरी अदालतको फैसलामाथि पुनरावलोकनमा जाने निवेदन दिएका थिए ।

केपी ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस, माओवादी नयाँ सरकार गठन गर्न तयार छन् । तर, जनता समाजवादी पार्टीमा भने कुरा मिलिसकेको छैन । जसपाको एउटा खेमा प्रधानमन्त्री केपी ओलीलाई नै सघाएर अगाडी बढ्ने लाइनमा छ भने अर्को खेमा ओलीको कट्टर विरोधमा उत्रिएको छ ।